आधुनिक रंगरोगनले रातोमाटो र कमेराले घर लिपपोत गर्ने चलन हराउँदै

आधुनिक रंगरोगनले रातोमाटो र कमेराले घर लिपपोत गर्ने चलन हराउँदै

आधुनिक रंगरोगनले रातोमाटो र कमेराले घर लिपपोत गर्ने चलन हराउँदै गएको छ । दसैँ सुरु हुनासाथ घरआँगनको लिपपोतका लागी रातो,सेतो र पँहेलो माटो ल्याएर लगाउने चलन थियो । तर आज भोली यो चलन हराउँदै गएको छ ।

केही वर्षअघिसम्म दसैँ सुरु हुनेबित्तिकै घरआँगनको लिपपोत, सरसफाइ हरेक परिवारको पहिलो काम हुन्थ्यो । तर हिजोआज रातो माटो र कमेरोले लिपेका घर दसैँको बेलामा कमै भेटिने गरेको छ ।

रामेछाप नगरपालिका ७ की पर्वती महताराले ५ वर्ष अघिसम्म ३ घण्टा हिँडेर घर लिपपोतका लागी कमेरो माटो ल्याएको सम्झनुहुन्छ । “कति दुखका साथ हामीले खानीमा पुगेर माटो लिएर आएर घर लिपपोत गरेर सजाउँथ्यौँ । दुख भए पनि त्यसरी लिएर आएको कमेरोले घर चिटिक्क हुँदा मनै अनन्द हुन्थ्यो ।” उहाँले सुनाउनुभयो । अहिले पार्वतीको घर सिमेन्ट प्लास्टर छ । घरमा आधुनिक रंग लगाएको उहाँले बताउनुभयो ।

सोह्र श्राद्ध सकिएर नवदुर्गा सुरु हुनेवित्तिकै दसैको माहोल देखिने गरेको छ । गाउँमा विकास र सुविधासँगै आधुनिकताको प्रभाव पनि बढ्दै गएपछि रातोमाटो र कमेराले घर लिपपोत गर्ने चलन हराउँदै गएको हो । रामेछाप नगरपालिका ८ की रिता घिमिरेका अनुसार २०७२ सालको भुकम्पपछि गाउँका सबै घरहरु फेरीए ।

पुराना ढुंगा,माटोले बनेका घरहरु भुकम्पले क्षती गरेपछि अहिले बनेका धेरै घरहरु सिमेन्ट,बालुवा प्लास्टर सहितका छन । समय र परिवेश अनुसार गाउँघरका घरहरु पनि आधुनिक बन्दै गएको रिताले बताउनुभयो ।

रामेछाप नगरपालिका ७ का ७५ वर्षिय गोपाल महतारालाई भने कमेरो माटोले घर नलिपेसम्म दशैँ आए जस्तो लाग्दैन । घण्टौँ धाएर गाउँका सबै मानिसहरु कमेरो माटो बोकेर ल्याएको,कमेरो छयाप्नका लागी बाबियोको कुच्चो बाटेको निकै याद आउँछ गोपाललाई । तर गोपालका ति यादहरु आजभोली यादमै मात्रै समित छन ।

किनभने गोपालको घरको भित्ता पनि सिमेन्ट र बालुवाले प्लास्टर गरिएको छ । पछिल्लो समयमा अधिकांश घरमा सिमेन्टको प्रयोग हुन थालेसँगै माटो ल्याउने प्रचलन हराउँदै गएको हो । जसका कारण रातोमाटो र कमेरोले घर लिपपोत गरेको कतै कतै मात्र देख्न पाईन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार