सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ छिचोलियो

सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ छिचोलियो

सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा आयोजित समारोहमा स्विच थिचे लगत्तै सुरुङ छिचोलिएको थियो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत कमलामाई–२ कुसुमटारदेखि सुनकोशी–७ कानढुङ्ग्रीसम्म क्षेत्रफल १३ दशमलव ३ किलोमिटर लामो सुरुङ खनिएको हो ।

२२ महिनामा खनिसक्ने लक्ष्य लिइएकोमा त्यसको ३ महिना २ दिनअगावै लक्ष्य हासिल गरिएको कम्पनीले जनाएको छ । २०७९ साल असोज २८ गतेबाट सुरु भएको सुरुङ खन्ने काममा ६ पटक अवरोध भएको थियो । उच्च प्रविधिबाट साढे ५ डायमिटरको सुरुङमा पानी हाल्न सुनकोशी नदीमा ३० मिटर उचाइ र १५८ मिटर लम्बाइको बाँध निर्माण गर्ने काम चलिरहेको छ ।

यो सुरुङमार्फतसुनकोशीको पानी मरिणखोलामा प्रतिसेकेन्ड ६७ क्युसेकका दरले खसालिने र ६६ मिटर हेटेडबाट पानी झारेर ३१ दशमलव ०७ मेगावाट बिजुली उत्पादन गरिने आयोजनाले जनाएको छ । सुरुङ निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले भ्याट बाहेक १० अर्ब ५ करोड ६८ लाख ३७ हजार रुपैयाँमा ठेक्का लिएको थियो ।

नदीमा बाँध बाँधेर सुनकोशीको पानी मरिणखोलामा खसाली मधेशका पाँच जिल्ला बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा वर्षैभरि सिँचाइ सुविधा पनि उपलब्ध गराउने तयारी छ । आयोजनाको जम्मा लागत ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार