रामेछापको मन्थली नगरपालिकाको जम्मा बजेट खर्च ५५ प्रतिशत मात्रै

रामेछापको मन्थली नगरपालिकाको जम्मा बजेट खर्च ५५ प्रतिशत मात्रै

रामेछापको मन्थली नगरपालिकाको जम्मा बजेट खर्च ५५ प्रतिशत मात्रै रहेको छ। नगरपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ को हालसम्म यति रकम खर्च गरेको जनाएको छ । जम्मा बजेट १ अरब ४ करोड ५४ लाख ९२ हजार रहेकोमा यहि वैशाख २७ गतेसम्म चालू खर्च ६५ प्रतिशत तथा पुँजीगत खर्च ४० प्रतिशत गरि जम्मा ५५ प्रतिशत मात्रै बजेट खर्च गरेको हो ।

नगरपालिकामा संचालित विकास आयोजना तथा कार्यक्रमहरुको प्रभावकारीता तथा सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा उक्त कुराको जानकारी गराइएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद चापागाईले नगरको दोस्रो चौमासिक अबद्यिसम्म भएको कामहरुको बारेमा जानकारी गराउनुभयो ।

उहाँले यहि साउनदेखी हालसम्म नगरपालिका मार्फत संस्थागत विकास तथा सुशासनको क्षेत्रमा भएका कामहरु,आर्थिक विकास,समाजिक विकास,पूर्वाधार विकास आयोजना, विपद व्यवस्थापन र न्यायिक समिति मार्फत भएको प्रगति लगायत विभिन्न क्षेत्रमा भएको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

सार्वजनिक सुनुवाईमा प्रगति प्रतिवेदन प्रस्तुत पछि कार्यक्रममा सहभागी नागरीकहरुले प्रश्न,जिज्ञासा सहित सुझाव सल्लाह दिएका थिए । नागरीकले शिक्षा,स्वास्थ्य,कृषि,सडक,पशुपालन र खानेपानी क्षेत्रसँग सम्बन्धित प्रश्न गरेका थिए । नागरीकहरुले सोधेको प्रश्नको जवाफ मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ,प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद चापागाइ र सम्बन्धित वडाका वडाअध्यक्षले दिनुभयो ।

वडा नं ९ का वडा अध्यक्ष गोकर्णराज आरणको अध्यक्षता र मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । मन्थली नगरपालिका वडा नं ९ पुरानो गाउँमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण हजुरको रेडियोले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार