मुलुकभरको मौसम आंशिकदेखि सामान्य बदली हुने

मुलुकभरको मौसम आंशिकदेखि सामान्य बदली हुने

आज मुलुकभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा रहेकाले पनि मौसम प्रभावित हुने देखिएको महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ । प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

यसैबीच महाकाली नदीले सतर्कता तह पार गरेको छ । आज विहान साढे ६ बजेको मापन अनुसार महाकाली नदी पारीगाँउ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । सतर्कता तह पार गरिसकेको र बाढी बढिरहेकोले महाकाली नदी तल्लो तटीय क्षेत्रका बासिन्दालाई साँझसम्मै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार