चोरीको सुन खरिदको आरोपमा सुनचाँदी व्यवसायी संघ रामेछापका अध्यक्ष पक्राउ

चोरीको सुन खरिदको आरोपमा सुनचाँदी व्यवसायी संघ रामेछापका अध्यक्ष पक्राउ

चोरीको सुन खरिद गरेको आरोपमा नेपाल सुनचाँदी कला व्यवसायी संघ रामेछापका अध्यक्ष पक्राउ परेका छन् ।पक्राउ पर्नेमा चितवन स्थायी घर भई रामेछाप सदरमुकाम मन्थलीमा सुनचाँदी व्यवसाय गर्दै आएका तुलाबहादुर बिश्वकर्मा रहेका छन् ।

उनी नेपाल सुनचाँदी व्यवसायी संघ रामेछापका कार्यवाहक अध्यक्ष हुन् । दोलखाको जिरीका दुई महिलाबाट लुटिएको सुन बिकले गरिद गरेको आरोप छ । श्रृङखलावद्ध रुपमा सुन लुटपाट गरेको अभियोगमा रामेछाप प्रहरी हिरासतमा रहेकी रामेछापको गोकुलगंगा गाउँपालिका–२ की मैया कार्कीको बयानपछि व्यवसायी बिक पक्राउ परेका हुन् ।

बिकलाई दोलखा प्रहरीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक किरण लोप्चनले बिकलाई अदालतवाट चार दिन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

प्रहरी अनुसन्धानका क्रममा दोलखामा लुटिएको सुन रामेछाप लगेर विक्रि गरेको खुलेको थियो । जिरी नगरपालिका–३ र ६ का दुई महिलालाई प्रलोभनमा पारेर नक्कली सुन लगाई सक्कली सुन लुटेर लगेको घटनापछि इलाका प्रहरी कार्यालय जिरीले अनुसन्धान अघि बढाएको थियो ।

इप्रका जिरीका प्रहरी निरीक्षक विवेक घिमिरेले अनुसन्धानका क्रममा जिरीका महिलाको सुन लुटपाटमा पनि रामेछापकी मैयाको संलग्नता पुष्टि भएको बताए ।त्यसपछि प्रहरी सोधपुछका क्रममा मैयाले जिरीबाट लुटेको सुन रामेछापका व्यवसायी बिकलाई विक्रि गरेको खुलाएकी थिइन् ।

करिव एक महिनाअघि जिरीका दुई जना महिलावाट करिव डेढ तोला सुन लुटिएको थियो । यस अघि चोरी गरेको सुन कारोबारमा संलग्न रामेछाप सदरमुकाम मन्थलीका करिब आधादर्जनसुनचाँदी व्यवसायी पक्राउ परिसकेका छन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार