रामेछाप जिल्लामा स्थायी बसोबास गर्ने विभिन्न लक्षित वर्गका नागरिकको स्वास्थ्य बीमा सहज बनाउन जनस्वास्थ्य कार्यालय रामेछाप र स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क कार्यालय रामेछापबीच दुईपक्षीय सम्झौता भएको छ।
बिहीबार जनस्वास्थ्य कार्यालय रामेछाप र स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क कार्यालयबीच भएको सम्झौताअनुसार जिल्लाभित्र स्थायी बसोबास गर्ने सीमान्तकृत, लोपोन्मुख समुदाय, महिला स्वास्थ्य स्वयंसेविका, आश्रममा आश्रित व्यक्ति तथा अपाङ्गता ‘ख’ वर्ग लगायत लक्षित वर्गको स्वास्थ्य बीमा नवीकरण तथा नयाँ स्वास्थ्य बीमा गर्दा लाग्ने प्रिमियम रकम जनस्वास्थ्य कार्यालय रामेछापबाट भुक्तानी गरिनेछ।
यस व्यवस्थाले आर्थिक तथा सामाजिक रूपमा लक्षित वर्गमा रहेका नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
जनस्वास्थ्य कार्यालय रामेछापले सम्बन्धित सम्पूर्ण लक्षित वर्गका नागरिकलाई स्वास्थ्य बीमा गर्न तथा नवीकरण गर्न अनुरोध गरेको छ। साथै, लक्षित वर्गका नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा समेट्न स्थानीय तह, स्वास्थ्य शाखा तथा सबै वडा कार्यालयलाई आवश्यक सहजीकरण गरिदिन आग्रह गरिएको छ।
सम्झौतापछि लक्षित वर्गका नागरिकले स्वास्थ्य बीमामार्फत स्वास्थ्य उपचारमा पहुँच बढाउन सहज हुने विश्वास गरिएको छ।


