रामेछापको रामेछाप नगरपालिका–७ सुुकाजोर वडा कार्यालयले काठमाडौं उपत्यकामा बसोबास गरिरहेका वडावासीलाई लक्षित गर्दै सामाजिक सुरक्षा भत्ता नवीकरण तथा व्यक्तिगत घटना दर्तासम्बन्धी सेवा काठमाडौंमै उपलब्ध गराएको छ।
उच्च शिक्षा, उपचार तथा विभिन्न कारणले काठमाडौं उपत्यकामा अस्थायी रूपमा बसोबास गरिरहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई वडामै पुगेर सेवा लिन कठिनाइ भइरहेको अवस्थालाई मध्यनजर गर्दै वडा कार्यालयले काठमाडौंमै सेवा सञ्चालन गरेको हो।
असोज १७ गते काठमाडौंको जडिबुटीस्थित होटल कोजिनमा सञ्चालन गरिएको सेवा शिविरबाट करिब १ सय जना सेवाग्राहीले सेवा लिएको वडा अध्यक्ष समीर कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार वडा नं. ७ का बासिन्दासँगै रामेछाप नगरपालिकाका अन्य वडामा स्थायी बसोबास भएका नागरिकले समेत शिविरबाट सेवा लिएका छन्।
शिविरमार्फत सामाजिक सुरक्षा भत्ता नवीकरणका साथै व्यक्तिगत घटना दर्तासम्बन्धी सेवा प्रदान गरिएको वडा कार्यालयले जनाएको छ। नागरिकलाई आफ्नो गाउँठाउँसम्म पुगेर सेवा लिनुपर्ने बाध्यता कम गर्ने उद्देश्यले काठमाडौंमै सेवा उपलब्ध गराइएको वडा अध्यक्ष कार्कीले बताउनुभयो।
वडा कार्यालयका अनुसार उक्त सेवा असोज १८ गते पनि जारी रहनेछ। काठमाडौं उपत्यकामा रहेका सम्बन्धित लाभग्राही तथा सेवाग्राहीलाई तोकिएको स्थानमा उपस्थित भई सेवा लिन वडा कार्यालयले आग्रह गरेको छ।
यसैबीच, रामेछाप नगरपालिका ७ सुकाजोरले सामाजिक सुरक्षा भत्ता लाभग्राहीको घरदैलोमै पुगेर वितरण गर्दै आएको छ। वडाले नागरिकलाई सहज र प्रभावकारी रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले स्थानीयस्तरमै विभिन्न सेवाहरू विस्तार गर्दै आएको जनाएको छ।


