रामेछापको रामेछाप नगरपालिका–१ का वडाध्यक्ष रेख बहादुर खत्रीले पदबाट राजीनामा दिनुभएको छ । वडाध्यक्ष खत्रीले नगर प्रमुखसमक्ष राजीनामा पत्र बुझाउँदै बुधबारदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको बताउनुभयो ।
राजीनामा पत्रमा आफूले स्थानीय तहको निर्वाचनमा वडावासीसमक्ष व्यक्त गरेका प्रतिबद्धता, विकास निर्माणका योजना, जनसरोकारका विषय तथा वडावासीका आधारभूत आवश्यकता पूरा गर्ने उद्देश्यका साथ काम गर्दै आएको उल्लेख गर्नुभएको छ ।
तर पछिल्लो समय रामेछाप नगरपालिकाको समग्र कार्यशैली, निर्णय प्रक्रिया तथा वडा नं.१ प्रतिको व्यवहारका कारण निर्वाचित जनप्रतिनिधिका रूपमा प्रभावकारी ढंगले काम गर्ने वातावरण असहज बन्दै गएको उहाँको भनाई छ ।
वडाको आवश्यकता, जनताको माग र स्थानीय समस्यालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने अवस्थामा कतिपय विषयमा बहुमत र अल्पमतका आधारमा व्यवहार हुने गरेको तथा वडा नं. १ का जायज माग र आवश्यकतालाई अपेक्षित प्राथमिकता नदिइएको राजीनामा पत्रमा उल्लेख छ ।
त्यसैगरी, स्थानीय निर्वाचनका क्रममा जनतासमक्ष गरिएका प्रतिबद्धता तथा अपेक्षाअनुसारका काम कार्यान्वयनमा ल्याउन नसक्दा वडावासीको अपेक्षा पूरा गर्न आफूलाई थप कठिनाइ भएको उहाँले बताउनुभयो ।
राजीनामा पत्रमा व्यक्तिगत असहमति, पूर्वाग्रह वा आन्तरिक मतभेदका कारण नभई जनताको पक्षमा प्रभावकारी रूपमा काम गर्न आवश्यक वातावरण, सहकार्य, समान व्यवहार र संस्थागत समन्वय कायम हुन नसकेको अवस्थाका कारण पदमा निरन्तर रहनु वडावासीप्रतिको जिम्मेवारीसँग न्याय नहुने निष्कर्षमा पुगेको उल्लेख गरिएको छ ।
वडाध्यक्ष खत्रीले नेपालको संविधान, प्रचलित कानुन तथा नगरपालिकासम्बन्धी कानुनी व्यवस्थाअनुसार राजीनामा बुझाएको जनाएका छन् । साथै नगर प्रमुख, उपप्रमुख, नगर कार्यपालिकाका सदस्य, वडा समितिका सदस्य, कर्मचारी, राजनीतिक दल, नागरिक समाज तथा वडावासीबाट आफूलाई प्राप्त सहयोग र सहकार्यप्रति धन्यवाद व्यक्त गरेका छन् ।


