प्रधानमन्त्री ज्यू धरहरा त उठ्यो, नेपाली कहिले उठ्ने ?

प्रधानमन्त्री ज्यू धरहरा त उठ्यो, नेपाली कहिले उठ्ने ?

विक्रम संवत् १८८२ सालका तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले आफ्नी महारानी ललित त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरुप धरहरा निर्माण गरेका थिए । भीमसेन थापाले निर्माण गरेकाले धरहरालाई भिमसेन स्तम्भ पनि भन्ने गरिन्छ ।धरहराको उचाइ त्यसवेला ९० हात थियो । १९९० साल माघ २ गतेको महाभुकम्पले क्षति पुर्याएको धरहरा तत्कालिन प्रधानमन्त्री जुद्ध शमसेरले ९ तला कायम गरी पुनर्निर्माण गरेका थिए । धरहराको सातौं तलामा बार्दली थियो ।

त्यसबेला धरहरा निर्माण गर्दा प्राचीन सामग्री सुर्ती, चुन र चाकुको मिश्रणबाट बनाइएको थियो । धरहराको निर्माण मुगल शैलीमा गरिएको थियो भने धरहराको वरिपरिको पर्खाल युरोपेली शैलीमा निर्माण गरिएको थियो । धरहराको टुप्पोको गजुर धार्मिक विविधता एवं सहिष्णुताको प्रतिकको रुपमा बनाइएको थियो ।

त्यस बेलामा संचारको खासै विकास भएको थिएन ।सामाजिक तथा प्रशासनिक सूचना र जानकारी तथा भेला गराउनु पहिले धरहराको टुप्पोबाट बिगुल बजाउने गरिन्थ्यो । बिगुल बजेको सुने पछि जंगी निजामति कर्मचारीहरु कोतमा वा टुँडिखेलमा जम्मा हुनुपर्ने अनिवार्य नियम थियो ।

पटक-पटकको भुइचालोले थिलथिलो बनाएको धरहरा पुनः २०७२ साल बैशाख १२ को महाभूकम्पले केराको थाम ढलेझैं गर्ल्यामगुर्लुम ढल्यो ।

धरहराको वरिपरि रहेका धेरैले ज्यान गुमाए । धेरै बालबालिका टुहुरो बने । धेरैको काख रित्तियो । कतिको कोख रित्तियो । धरहरा ढलेसँगै धेरैको सपना ढल्यो । ठूलो धनजनको क्षति भयो । धेरैले आफ्ना सन्तान गुमाए ।
पटकपटकको महाभुकम्पले चोट पुर्याएको ऐतिहासिक धारहराले यस पटक भने बलियो जग पाएको छ । धरहराले यतिबेला नेपाल र नेपालीको शिर ठाडो पारेको छ ।

प्रधानमन्त्रीज्यू जसरी धरहरा उठ्यो, त्यसरी नै नेपाल र नेपाली कहिले उठ्ने ? जसरी नेपालको ऐतिहासिक स्तम्भ धारहराले बलियो जग पायो, त्यसरी नै बलियो जग भएको आम नेपालीको जीवनस्तर कहिले उठ्छ ?

प्रधानमन्त्रीज्यू देशमा पटक-पटक व्यक्ति फेरिए, व्यवस्था फेरिएन । फेरिएको भए पनि ठूलालाई चैन, सानालाई मात्र ऐन भएको अवस्था छ । देश यतिबेला विषम परिस्थितिका बाबजुद घुँडा टेकेर बामे सरिरहेको अवस्था छ । विचौलियाहरु सलबलाएका छन् । तस्करहरु किर्नो फुलेझै फुलेका छन् । हरेक क्षेत्र भष्ट्राचारले दुङदुङती गनाउजे भएको छ । न्याय मरेको छ । प्रधानमन्त्रीज्यू नेताको शब्द मिठो होला तर आम जनताको दिलमा बस्न सकेको अवस्था छैन ।

जाँड खाएर नालीमा लड्नेहरुलाई वडा अध्यक्ष बनाइएको छ । लुटपाट गर्ने, गुन्डागर्दी गर्ने, हत्या हिंसा गर्ने, कुखुरा चोर्नेहरुलाई नेता बनाइएको छ । त्यही भए होला जनताले खुसीको सास फेर्न नपाएका । यसै मौकामा छोटे राजाहरु गिद्दले सिनो लुछेझै देशलाई लुछिरहेका छन् ।

जनताहरु केही हदसम्म शिक्षित त भएका छन् तर सचेत नभएका पो हुन् कि, शिक्षित हुनु र सचेत हुनु नितान्त फरक कुरा हो । प्रधानमन्त्रीज्यू कतै हामीले धान पेल्ने मिलमा ढुंगा त पेलिरहेको छैनौं ? पेल्न त पेल्छ मेसिनले तर मेसिनको आयु चाँडै सकिन्छ ।

प्रधानमन्त्रीज्यू अब हामी अबै एक आपसमा एकजुट हुन जरुरी छ ।
वेदले भनेको छ सँगै हिँड, सँगै बस, सँगै खाऊ, भाइभाइमा एक आपसमा लडाइँ झगडा नगर……। यस संसारमा तँ ठुलो, म ठुलो नभन । तानातान नगर । हानाहान नगर । हेर……सँगै हिँड, सँगै बस, सँगै खाऊ……। एक-एक मिले दुई हुन्छ । दुई-दुई मिले चार हुन्छ । चार-चार मिले घरपरिवार हुन्छ । परिवार-परिवार मिले समाज बन्छ र समाज-समाज मिले समृध्द राष्ट्र बन्छ । राष्ट्र-राष्ट्र मिले सिंगो विश्व राम्रो बन्छ ।

प्रधानमन्त्रीज्यू धरहरा उठेसँघै नेपाल र नेपालीको शिर उठाउनेतर्फ तपाइले नजरअन्दाज गर्नु पर्ने अवस्था भएको छ । प्रधानमन्त्रीज्यू म को हुँ ? मेरो कर्तव्य के हो ? म जन्मनुभन्दा पूर्व कहाँ थिएँ । अहिले कहाँ आएको छु ।म अब कहाँ जान्छु भन्ने कुराको ख्याल गर्नुहोला । यसमा नै तपाईंसँगै नेपाल र समग्र नेपालीको शिर धरहरा जस्तै गर्वले ठाडो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार