रामेछापको मन्थली नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ। नगरपालिकाले शुक्रबार एक जरुरी सूचना जारी गर्दै नगर क्षेत्रभित्रका सार्वजनिक सरकारी जग्गा खाली गर्न निर्देशन दिएको हो।
नगरपालिकाका अनुसार नेपाल सरकार, गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय रामेछापबाट प्राप्त निर्देशनअनुसार मन्थली नगरपालिकाका वडा नं. १ देखि १४ सम्मका विभिन्न स्थानमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण भएको पाइएको छ। सूचनामा केही व्यक्तिहरूले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको नाममा अनधिकृत रूपमा सरकारी जग्गा कब्जा गरी घर, टहरा, कम्पाउण्डवाल लगायतका संरचना निर्माण गरेर व्यापार तथा व्यवसाय सञ्चालन गरिरहेको उल्लेख गरिएको छ।
नगरपालिकाले यस विषयमा वडा कार्यालयमार्फत विवरण संकलन गर्ने कार्य अघि बढाइसकेको जनाएको छ। साथै अतिक्रमण गरी बनाइएका घर, टहरा तथा व्यवसायिक संरचना स्वयम् हटाई नेपाल सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।
नगरपालिकाले आवश्यक सूचना तथा तथ्यांक उपलब्ध गराउन सरोकारवालासँग पनि आग्रह गरेको छ। अन्यथा कानुन बमोजिम अतिक्रमण हटाउने तथा हटाइने प्रक्रिया अगाडि बढाइने चेतावनी सूचनामार्फत दिइएको छ।



