रामेछापको रामेछाप नगरपालिका वडा नं ८ वादीमा बेमौसमी तरकारी खेती सीप विकास तालिम सम्पन्न भएको छ । उद्योग तथा वाणिज्य कार्यालय रामेछापको आयोजना,रामेछाप नगरपालिकाको समन्वय र हायु समाज नेपालको सहजीकरणमा तालिम संचालन गरिएको हो ।
बोटे,माझी,हायु,मुहसर र वनकरिया समुदायका लागि स्वरोजगार कार्यक्रम अन्तर्गत उक्त तालिम संचालन गरिएको हो । तालिममा १२ जना हायु समुदायका महिला,पुरुषहरुको सहभागिता रहेको थियो । ७ दिनसम्म चलेको तालिममा बेमौसमी तरकारी खेती सीप विकास सम्बन्धि विभिन्न कुराहरुमा बारेमा जानकारी गराइएको थिया ।
तालिम समापन कार्यक्रमका प्रमुख अतिथी एवम रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले तालिममा सिकेको सीपलाई प्रयोग गरेर उत्पादनमा लाग्न आग्रह गर्नुभयो । वडाअध्यक्ष सन्तोष कुमार तामाङले व्यवसायिक तरकारी खेती गर्ने किसानलाई वडा तथा नगरले सहयोग गर्दै आएको बताउनुभयो ।
कृषिमा आधुनिक प्रविधि अपनाउँदै किसानहरूको आयआर्जन वृद्धि गर्ने उद्देश्यले बेमौसमी तरकारी खेती सम्बन्धी सीप विकास तालिम प्रदान गरिएको उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रमुख खेमराज घिमिरे जानकारी दिनुभयो ।
तालिममार्फत सहभागीहरूलाई बेमौसमी तरकारी उत्पादन प्रविधि, प्लास्टिक टनेल (टनेल हाउस) निर्माण, उन्नत बीउ छनोट, रोग–कीरा व्यवस्थापन, मलखाद प्रयोग तथा बजार व्यवस्थापनका विषयमा व्यावहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिएको हो ।
स्थानीय कृषकहरूले यस्ता सीपमूलक तालिमले आफूहरूलाई आत्मनिर्भर बन्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।


