रामेछापमा सेवाग्राहीको घरघरमै पुगेर राहदानी वितरण गर्ने कार्य सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयको समन्वयमा सञ्चालन गरिएको यो अभियानअन्तर्गत पहिलो चरणमा सेवाग्राहीको घरमै पुगेर राहदानी हस्तान्तरण गर्न थालिएको हो ।
अभियानको सुरुवात सोमबार मन्थली र मंगलबार रामेछाप नगरपालिका–७ सुकाजोरबाट गरिएको जिल्ला हुलाक कार्यालय रामेछापका सूचना अधिकारी कुमार लुईटेलले जानकारी दिनुभयो ।
घरमै राहदानी लिनका लागि ९ जनाले निवेदन दिएको उहाँले बताउनुभयो । पालिकामा रहेका हुलाक कार्यालयमा ति राहदानीहरु पुगिसकेका छन । कार्यालयका कर्मचारीहरू स्वयं सेवाग्राहीको घरदैलोमा पुगेर राहदानी बुझाउने सूचना अधिकारी लुईटेलको भनाई छ ।
यस अभियानले सरकारी सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ । स्थानीयवासीले पनि घरमै राहदानी पाउँदा समय र खर्च दुबै बचत भएको बताएका छन् ।


