रामेछापको एसइई नतिजा उत्साहजनक,३६ जनाले ल्याए ४ जीपीए

रामेछापको एसइई नतिजा उत्साहजनक,३६ जनाले ल्याए ४ जीपीए

रामेछापमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा उत्साहजनक देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका अधिकांश विद्यार्थी ग्रेडेड हुन सफल भएका छन् भने प्राविधिक शिक्षातर्फ शतप्रतिशत नतिजा आएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलका अनुसार जिल्लाका ८५ सामुदायिक र ३ संस्थागत विद्यालयका विद्यार्थी एसइईमा सहभागी भएका थिए । नियमिततर्फ साधारण धारका २ हजार १ सय ३६ र प्राविधिक धारका १ सय ४४ गरी कुल २ हजार २ सय ८० विद्यार्थी परीक्षामा सहभागी भएका हुन् ।

तीमध्ये १ हजार ८ सय ५४ विद्यार्थी ग्रेडेड भएका छन् भने ४ सय २६ विद्यार्थी नन–ग्रेडेड भएका छन् । जिल्लाको समग्र ग्रेडेड प्रतिशत ८१ दशमलव ३२ रहेको छ । साधारण धारतर्फ ८० दशमलव ०६ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् भने प्राविधिक धारतर्फ सहभागी सबै १ सय ४४ विद्यार्थी उत्तीर्ण भएका छन् ।

जीपीएअनुसार सबैभन्दा धेरै ६ सय २४ विद्यार्थीले २ दशमलव ८१ देखि ३ दशमलव २० सम्मको जीपीए हासिल गरेका छन् । २ दशमलव ४१ देखि २ दशमलव ८० जीपीए ल्याउने विद्यार्थी ४ सय ५७ रहेका छन् ।

त्यस्तै, ३ दशमलव २१ देखि ३ दशमलव ६० जीपीए ल्याउने ४ सय ११ विद्यार्थी रहेका छन् भने ३ दशमलव ६१ देखि ४ जीपीए हासिल गर्ने विद्यार्थी संख्या २ सय ८६ पुगेको छ । यस वर्ष जिल्लाबाट ४ जीपीए ल्याउने विद्यार्थी संख्या ३६ रहेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । तीमध्ये २७ जना साधारण धारका तथा ९ जना प्राविधिक धारका विद्यार्थी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार