रामेछापको सदरमकाम मन्थलीमा बेसिक ब्युटी पार्लर सम्बन्धि ३० दिने तालिम सुरु भएको छ । उद्योग तथा वाणिज्य कार्यालय रामेछापको आयोजना,मन्थली नगरपालिकाको समन्वय र माझी उत्थान संघ रामेछापको सहजीकरणमा तालिम संचालन गरिएको हो ।
बाग्मती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठले तालिमको उद्धघाटन गर्नुभयो । बोटे,माझी,हायु,मुहसर र वनकरिया समुदायका लागि स्वरोजगार कार्यक्रम अन्तर्गत उक्त तालिम संचालन गरिएको हो । तालिममा १२ जना माझि समुदायका महिलाहरुको सहभागिता रहेको छ । यि समुदायका महिलाहरूको सीप विकास र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले तालिम संचालन गरिएको हो ।
तालिममार्फत सहभागीहरूलाई अनुहार सौन्दर्य (फेसियल), हेयर कट, मेकअप, स्किन केयर, म्यानिक्योर, पेडिक्योर लगायतका आधारभूत ब्युटी सेवासम्बन्धी सीप प्रदान गरिने प्रशिक्षकले जानकारी दिएका छन्। ३० दिनसम्म सञ्चालन हुने तालिममा सैद्धान्तिक र व्यवहारिक दुवै पक्षमा जोड दिइनेछ।
तालिम सम्पन्न भएपछि सहभागीहरूलाई प्रमाणपत्र समेत प्रदान गरिने जनाइएको छ। स्थानीय महिलाहरूले यस्ता तालिमलाई अवसरका रूपमा लिँदै भविष्यमा आफ्नै व्यवसाय सञ्चालन गर्ने लक्ष्य राखेको बताएका छन्।


