रामेछापको मन्थली नगरपालिका–१ स्थित मन्थली माध्यमिक विद्यालयले विद्यार्थी भर्नाका क्रममा शुल्क लिएको तथा शुल्क बुझाएपछि रसिदसमेत नदिएको भन्दै अभिभावकहरूले गुनासो गरेका छन् ।
सरकारले कुनै पनि बाहानामा विद्यार्थीसँग शुल्क लिन नमिल्ने भने पनि सो विद्यालयले अभिभावकहरुसँग सहयोग भन्दै शुल्क असुलिरहेको छ ।
अभिभावकका अनुसार विद्यालयले विभिन्न शीर्षकमा रकम माग गर्दै विद्यार्थी भर्ना गरेको भए पनि शुल्क बुझाएको आधिकारिक रसिद उपलब्ध नगराएको आरोप लगाएका हुन् । केही अभिभावकले आर्थिक अवस्था कमजोर हुँदा पनि बाध्य भएर रकम तिर्नुपरेको बताएका छन् ।
सरकारले सामुदायिक विद्यालयमा अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था लागू गरेको अवस्थामा विद्यालयले शुल्क उठाएको विषयप्रति अभिभावकहरूले असन्तुष्टि जनाएका छन् । केही अभिभावकहरुले विद्यालयले भर्ना शुल्क लिएर पनि रसिद नदिएको भन्दै समाजिक संजालमा समेत असन्तुष्टि व्यक्त गरेका छन ।
विद्यालयका प्रधानाध्यपक टंक प्रसाद दाहालले कुनै पनि बाहानामा अभिभावकसँग शुल्क नलिएको दावि गर्नुभयो । उहाँले शनिबार अभिभावक भेला बोलाएको भन्दै अभिभावकहरूले उठाएका गुनासोबारे थप बुझ्ने र आवश्यक छानबिन गर्ने बताउनुभयो ।
नेपालको शिक्षा ऐन, २०२८ को दफा १६घ अनुसार “नेपाल सरकारले निःशुल्क शिक्षा घोषणा गरेको विद्यालय शिक्षाका लागि सामुदायिक विद्यालयले विद्यार्थीको नाममा कुनै किसिमको शुल्क लिन पाउने छैन” भन्ने स्पष्ट व्यवस्था रहेको छ।
यस्तै, अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ ले पनि आधारभूत तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको अधिकार सुनिश्चित गरेको छ। तर व्यवहारमा भने धेरै सामुदायिक विद्यालयहरूले विभिन्न शीर्षकमा शुल्क उठाइरहेको विषय पटक–पटक सार्वजनिक हुँदै आएको छ ।


