रामेछापको रामेछाप नगरपालिका वडा नं. ८ ले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई लक्षित गर्दै मोबाइल फोन वितरण गरेको छ। स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउन यो पहल गरिएको वडा कार्यालयले जनाएको छ।
वडाध्यक्ष सन्तोष कुमार तामाङका अनुसार ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा सहज बनाउन स्वयंसेविकाहरूको भूमिका महत्वपूर्ण रहेकोले उनीहरूलाई डिजिटल पहुँचमा जोड्न मोबाइल वितरण गरिएको हो। मोबाइलको प्रयोगबाट स्वास्थ्यसम्बन्धी सूचना आदान–प्रदान, बिरामीको निगरानी तथा आकस्मिक अवस्थाको जानकारी तत्काल गराउन सहज हुने विश्वास गरिएको छ।
वडाभर ११ जना स्वास्थ्य स्वयंसेविकाहरू रहेका छन । अहिले ६ जनालाई मोबाईल वितरण गरिएको छ भने बाँकी ५ जनालाई अर्को पटक वितरण गरिने बताइएको छ । उनिहरुलाई मोबाईलसँगै पावर बैँक पनि वितरण गरिएको छ ।
कार्यक्रममा सहभागी स्वयंसेविकाहरूले यस पहलले आफ्नो काममा ठूलो सहयोग पुग्ने बताएका छन्। उनीहरूले अब स्वास्थ्यसम्बन्धी विवरण छिटो संकलन तथा समन्वय गर्न सकिने भन्दै खुसी व्यक्त गरे।
स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा प्रविधिको प्रयोग बढाउँदै लैजाने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


