सुनकोसी–मरिण डाइभर्सन विरुद्ध रामेछापका माझी समुदायले प्रजिअलाई बुझाए ज्ञापनपत्र

सुनकोसी–मरिण डाइभर्सन विरुद्ध रामेछापका माझी समुदायले प्रजिअलाई बुझाए ज्ञापनपत्र

सुनकोसीको पानी डाइभर्सन गरी सिन्धुलीको मरिणक्षेत्रमा लाने परियोजनामा रामेछापका प्रभावित माझी समुदायले १३ बुँदे मागसहित रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मासमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

परियोजनाले माझीहरुको परम्परागत जीविकामाथि प्रत्यक्ष असर गर्ने भन्दै क्षतिपूर्ति मुआब्जा समितिमा माझी समुदायको प्रतिनिधित्व, उचित मुआब्जा तथा क्षतिपूर्ति हुनुपर्ने र यसको लागि आफूले पहल गर्ने वाग्मती प्रदेश सांसद् रिता माझीले प्रतिबद्धता जनाएकी छन् । प्रजिअ शर्माले भने परियोजनासँग छलफल गरी टुंगोमा पुर्‍याउने आश्वासन दिएका छन् ।

प्रभावित क्षेत्रका माझी समुदायहरूद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा ‘विकासको नाममा हामीले परम्परादेखि भोगचलन गर्दै आएको हाम्रो पुर्ख्यौली जग्गा–जमिन, नदी–खोला र बगरक्षेत्र, घाट आदि डुबानमा परी हामी विस्थापित हुनुपर्ने र हाम्रो धार्मिक, सांस्कृतिक र सामाजिक जीवनमा प्रतिकूल असर पर्ने’ उल्लेख गरेका छन् ।

यस्ता छन् १३ माग : 

१. सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनासम्बन्धी वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनलगायतका जानकारी प्रभावित समुदायले बुझ्ने भाषामा उपलब्ध गर्नुपर्ने ।

२. प्रभावित आदिवासी माझी र अन्य समुदायसँग अर्थपूर्ण परामर्श गरी आयोजनाबाट समुदायलाई असरपर्ने निर्णयहरु प्रभावित समुदायको स्वतन्त्र, अग्रिम र सूचित मन्जुरी लिनुपर्ने ।

३. आयोजनाबाट लालपुर्जा भएको वा नभएको घरजग्गासहित नदी, बगर  र समुदायको अन्य भूमि र स्रोत–साधनमा पर्ने असर र जग्गा अधिग्रहणको विषयमा प्रभावित समुदायमा अन्योल र असहमति रहेको हुँदा आयोजनाले  असर गर्ने वा अधिग्रहण गरिने घर–जग्गा र जमिनको बारेमा सम्बन्धित समुदायको सहमागितामा पुनःफिल्ड सर्भे गरी उचित मुआब्जा तथा क्षतिपूर्ति निर्धारण गर्नुपर्ने । विशेषतः मुआब्जा निर्धारण समितिमा प्रभावित समुदायकै प्रतिनिधित्व हुनुपर्ने ।

४. घरजग्गा अधिग्रहण गर्नैपर्ने भए प्रभावित परिवारको इच्छाअनुरुप अधिग्रहण गरिने घर–ग्गाको मुआब्जाको लागि समान प्रकृति र मूल्यको घर–जग्गा सट्टामा दिने व्यवस्था गर्नुपर्ने । त्यसरी नै प्रभावित आदिवासी माझी समुदायले परम्परादेखि भोगचलन गरी आएको लालपुर्जा नभएको घर–जग्गा, गोठ, जिमन र स्रोत–साधनको पनि उचित व्यवस्था हुनुपर्ने ।

५. अधिग्रहण गरिने घरजग्गा,  जमिन डुबानमा नपरेसम्म प्रभावित समुदायले प्रयोग गर्न पाउनुपर्ने र डुबानबाट प्रभावित हुने बाली, रुख–बिरुवाको पनि उचित क्षतिपूर्ति दिइनुपर्ने ।


६. प्रभावित क्षेत्रको प्रत्येक घर–परिवारलाई आयोजनामा सीप र क्षमताको आधारमा एक घर एक रोजगारीको व्यवस्था गर्नुपर्ने । ती प्रभावितको क्षमता बढाउन आयोजनाबाट निःशुल्क तालिम व्यवस्था हुनुपर्ने ।

७. आयोजनालाई कम्पनीमा लगि प्रभावित आदिवासी माझी र प्रभावित स्थानीय बासिन्दालाई निःशुल्क आयोजनाको सेयर र त्यसबाट उत्पादन हुने बिजुली वितरण गरिनुपर्ने ।

८. आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रका स्थानीय सरकारलाई दिइने रकम विशेष गरी प्रभावित आदिवासी माझी र स्थानीय समुदायको हित हुने कार्यक्रममा ती समुदायकै सहभागितामा प्रयोग गर्नुपर्ने । विशेषतः डुबान क्षेत्रमा शिक्षा, स्थास्थ्य, यातायात, विद्युत्, खानेपानी, सञ्चारलगायतका विकासका पूर्वाधार निर्माण गरिने नमुना बस्ती विकास गरिनुपर्ने । साथै, डुबान क्षेत्र वरिपरि रहेका गाउँबस्ती, जग्गा–जमिन, विद्यालयलगायतका भौतिक पूर्वाधारको सुरक्षाको लागि आवश्यक सर्वेक्षण गरी पक्की पर्खाल निर्माण गरी संरक्षण गरिनुपर्ने ।

९. आयोजनाबाट स्थानीय र प्रदेश सरकारलाई प्राप्त हुने २५/२५ प्रतिशत राजस्व प्रभावित आदिवासी जनजाति माझी र स्थानीय समुदायको हितको लागि प्रभावित समुदायकै सहभागितामा प्रयोग गरिनुपर्ने ।

१०. आयोजनाबाट बन्ने जलाशयमा प्रभावित आदिवासी माझी समुदायको परम्परागत सीप र जीविकोपार्जन संरक्षण हुने गरी प्रभावित माझीहरुकै स्थानीय समितिमार्फत पर्यटकीय र डुंगा चलाउने कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने र त्यसको लागि सरकारले आवश्यक सहयोग गर्नुपर्ने ।

११. आयोजनाबाट प्रभावित आदिवासी माझी समयदायका घाछहरु (डुंगा तार्ने र जात्रा गर्ने स्थान) डुबानमा पर्नेलगायत तिनको संस्कृतिमा गम्भीर नकारात्मक असर पर्ने कुराको मूल्याङ्कन नभएको हुँदा प्रभावित समुदायकै सहभागितामा सांस्कृतिक प्रभाव मूल्याङ्कन गरिनुपर्ने । आयोजनाबाट समुदायकै सहभागितामा माझी जातिको संस्कृति, भाषा र वेशको जगेर्ना गर्न कार्यक्रम कार्यान्वयन गर्नुपर्ने । विशेषतः माझीहरुको पितृ चढाउने स्थल, माछा मार्ने ठाउँको व्यवस्था गरिनुपर्ने । साथै, मठमन्दिर, धार्मिकस्थल, पाटीपौवालगायत सार्वजनिक स्थलको उचित संरक्षण र विकास गरिनुपर्ने ।

१२. आयोजनाबाट प्रभावित क्षेत्रका महिला, बालबालिका, ज्येष्ठ नागरिकको संरक्षण र विकासको लागि विशेष कार्यक्रम ल्याउनुपर्ने ।

१३. आयोजनाको कार्यान्वयनको क्रममा आदिवासी अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नम्बर १६९ लगायत अन्य अन्तर्राष्ट्रिय कानुनबमोजिम आदिवासी माझी र स्थानीय समुदायको अधिकार सुनिश्चित गरिनुपर्ने । विशेषतः स्थानीय स्रोत–साधनमा प्रभावित आदिवासी माझीको विशेष अधिकार कायम हुनुपर्ने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार