रामेछापको सुनापति गाउँपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बसोबास तथा संरचना निर्माण गरेका व्यक्ति र संस्थालाई ३५ दिनभित्र अतिक्रमण हटाउन अत्यन्त जरुरी सूचना जारी गरेको छ।
गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रामेछापको पत्राचारका आधारमा सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्तो सूचना जारी गरिएको जनाएको छ।
सूचनाअनुसार गाउँपालिका क्षेत्रभित्र अतिक्रमण भएका सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरी अतिक्रमण गर्ने व्यक्ति वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने यकिन गर्ने प्रक्रिया अघि बढाइएको छ। साथै वास्तविक सुकुम्बासीलाई अन्यत्र व्यवस्थापन गरी सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने योजना बनाइएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अतिक्रमण हटाउन आग्रह गरेको छ। यदि कुनै व्यक्ति वा परिवारको नाममा नेपालभित्र अन्यत्र जग्गा जमिन नभएको वास्तविक सुकुम्बासी भए १५ दिनभित्र गाउँपालिका कार्यालय वा सम्बन्धित वडा कार्यालयमा नागरिकताको प्रतिलिपिसहित निवेदन पेश गर्न अनुरोध गरिएको छ।
निर्धारित समयसीमाभित्र अतिक्रमण नहटाए प्रचलित कानुनअनुसार संरचना हटाउने प्रक्रिया अघि बढाइने चेतावनी समेत गाउँपालिकाले दिएको छ।
प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठद्वारा जारी सूचनामा सार्वजनिक सम्पत्तिको संरक्षणमा सहयोग गर्न सबै सरोकारवालालाई आग्रह गरिएको छ।



