नेकपा र काँग्रेसमा आन्तरिक विवाद झन् बढ्दै

नेकपा र काँग्रेसमा आन्तरिक विवाद झन् बढ्दै

प्रमुख दुई ठूला पार्टी नेकपा र नेपाली काँग्रेसमा आन्तरिक विवाद झन् बढ्दै गएको छ । सत्तारूढ नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड–नेता नेपाल समूहबीचको टकरावका कारण पार्टी एकताले पूर्णता पाउन सकेको छैन भने काँग्रेसमा महाधिवेशन नजिकिँदै भइरहेका गुटगत चलखेलका कारण विवाद सतहमा आउन थालेको छ । जारी स्थायी कमिटीको बैठक स्थगित गरेर नेकपाका अध्यक्ष द्वय ओली र प्रचण्ड निरन्तर छलफलमा जुटे पनि निस्कर्ष निकाल्नुको साटो गुटमा ध्रुविकरण देखिन थालेको छ ।

प्रचण्ड–नेपाल समूहमा रहनुभएका उपाध्यक्ष बामदेव गौतम ओलीतर्फ लागेपछि सचिवालयको बैठकबाट नै पार्टीको विवाद मिलाउने रणनीतिमा ओली देखिनुभएको छ । यसबीचमा नेकपाका एक सय ५२ केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक माग गरेका छन् । पार्टी कार्यालयमा हिजो लिखित पत्र दर्ता गरेका उनीहरूले एक महिनाभन्दा लामो समयदेखि जारी स्थायी कमिटी बैठकले कुनै निस्कर्ष निकाल्न नसकेका कारण केन्द्रीय कमिटीको बैठकबाट निस्कर्षमा पुग्नका लागि नेतृत्वलाई आग्रह गरेका हुन् । केन्द्रिय कमिटिको बैठकमा छलफल गरी विधि पद्धति बमोजिम गर्नुपर्नेमा आफूहरुले माग गरेको केन्द्रीय सदस्य ठाकुर गैरेले  जानकारी दिनुभयो । पार्टीको अन्तरिम विधान, २०७५ को धारा ५९ बमोजिम बैठक बोलाउनुपर्ने उनीहरूको माग छ ।

फागुनमै नेपाली काँग्रेसको १४ औं महाधिवेशन हुनेमा अझै आशङ्का रहे पनि सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष र इतर समूहबीच महाधिवेशन केन्द्रित किचलो सुरु भएको छ । महाधिवेशन भएको दुई महिनाभित्र पार्टीका सबै निकाय गठन गर्न असफल देखिएका सभापति देउवाले महाधिवेशनको मिति घोषणापछि विभागसहितका निकाय गठन तीव्र पार्नु भएको छ । त्यसलाई नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहितका असन्तुष्ट पक्षले महाधिवेशन प्रभावित गर्ने देउवा रणनीति भएको ठहर गरेको छ ।

विधि र प्रक्रियाविपरीत गएर महाधिवेशन प्रभावित गर्ने उद्देश्यले गठन गरिएका कुनै निकायमा नबस्ने र आफूनिकट नेता तथा कार्यकर्तालाई पनि नबस्न आग्रह गर्ने निर्णयमा उनीहरू हिजोको गुटगत भेलाबाट पुगेका हुन् । महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र पार्टीका सबै निकाय गठन गरिसक्नुपर्ने व्यवस्था रहेकोमा अब विभाग गठनको औचित्यसमेत नरहेको निस्कर्ष असन्तुष्ट पक्षको हिजोको भेलाले निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार