नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछापमा मंगलबार सम्पन्न निर्वाचनको मतगणना बुधबार(आज) दिउँसो ३ः३० देखी सुरु हुने भएको छ । सर्वपक्षिय छलफलपछि मतगणना सुरु गर्ने तयारी भैरहेको निर्वाचन समितिले जनाएको छ ।
मंगलबार भएको मतदानमा ९५ प्रतिशतभन्दा बढी मतदाताले मतदान गरेका छन् । कुल १ हजार ७ सय ८४ क्षेत्रीय प्रतिनिधिमध्ये १ हजार ७ सय ३ जनाले मतदान गरेका हुन् ।
यो कुल मतदाताको ९५ दशमलव ४६ प्रतिशत हो ।केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोटका लागि भएको मतदानमा उक्त संख्यामा मत खसेको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी रामेछाप प्रदेशसभा ‘क’ मा ८ सय ७२ जना र प्रदेशसभा ‘ख’ मा ८ सय ४१ जना मतदाताले मतदान गरेका छन् ।मंगलबार बिहान ९ बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेसम्म सञ्चालन भएको थियो ।
रामेछापका दुई प्रदेशसभा निर्वाचन क्षेत्रका पदाधिकारी, प्रदेश अधिवेशन प्रतिनिधि तथा एक संघीय निर्वाचन क्षेत्रबाट केन्द्रीय महाधिवेशनमा सहभागी हुने केन्द्रीय महाधिवेशन प्रतिनिधिसहित ९३ जना निर्वाचित हुने गरी निर्वाचन प्रक्रिया अघि बढाइएको थियो ।


