रामेछाप जिल्लामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, साढे ३ सय बढी प्रहरी परिचालन

रामेछाप जिल्लामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, साढे ३ सय बढी प्रहरी परिचालन

बडा दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै रामेछाप जिल्लामा विशेष सुरक्षा योजना लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय र रामेछाप जिल्ला प्रशासन कार्यालयको संयुक्त समन्वयमा यो सुरक्षा योजना बनाइ लागू गरिएको हो।

चाडपर्वका बेला हुन सक्ने सम्भावित आपराधिक घटनालाई रोक्न र जिल्लाको शान्ति सुरक्षालाई अझै सुदृढ बनाउन जिल्लाभर नै विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तुलाल प्रसाद जैसवारसँग गरिएको चाडपर्व लक्षित विशेष सुरक्षा योजनासँग सम्बन्धित कुराकानीको सम्पादित अंश : 

कस्तो छ सुरक्षा योजना र ड्युटी व्यवस्था ?

रामेछाप जिल्लाको समग्र सुरक्षा अवस्थालाई ध्यानमा राखेर जिल्लाभर २४ किसिमका सुरक्षा ड्युटीहरू सञ्चालन गरिएको छ। यस अन्तर्गत सरप्राइज चेकिङदेखि लिएर दैनिक लापसे चेकिङ, मापसे चेकिङ, चेक पोइन्टहरूमा निगरानी, मोबाइल गस्ती,्युआरटी र पिकेट तथा साझा पोशाकमा समेत प्रहरी परिचालन गरिएको छ।

चाडपर्वको समयमा सुरक्षा प्रदान गर्नका लागि रामेछाप जिल्लाभर करिब ३ सय ५० जना प्रहरी जनशक्ति परिचालन गरिएकोे छ। जिल्ला भित्रिने र बाहिरिने प्रमुख नाकाहरू जस्तै सेलेघाट, सित्खा, खिम्ती र साँघुटार लगायतका क्षेत्रहरूमा २४ घण्टै चेकपोइन्टको निगरानी गरिनेछ।

यात्री सहायता कक्षबाट कसरी सेवा दिईरहनुभएको छ ?

यात्रुहरूलाई यात्राका क्रममा कुनै पनि किसिमको समस्या वा अप्ठ्यारो नहोस् भनी जिल्लाका चार स्थानमा ’यात्रु सहायता कक्ष’ (हेल्प डेस्क) स्थापना गरी सेवा प्रवाह गरिएको छ। कसैले बढी भाडा लिएमा वा कुनै प्रकारको समस्या आएमा नागरिकले यी हेल्प डेस्कबाट सहयोग लिन सक्नेछन्। यात्रुहरूको दैनिक आवतजावत र सवारी साधनको अभिलेख राखिने र यसको विवरण तालुक कार्यालयहरूमा समेत दैनिक पठाउने गरिएको छ।

नका तथा बजारहरुमा सिसी क्यामेराबाट अनुगमन भैरहेको छ ?

जिल्लाभरका विभिन्न स्थानमा रहेका १ सय २५ वटा सिसी क्यामेरा मार्फत बजार र नाकाहरूको गतिविधिको निगरानी भइरहेको छ। कुनै दुबिधा वा आपत्कालीन समस्या परेमा नागरिकले नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा फोन गरेर सहजै सहयोग लिन सक्नेछन्।

अप्रिय घटना हुन नदिन प्रहरीले भौतिक र प्राविधिक दुवै हिसाबले सुरक्षा प्रबन्ध कडा बनाएको छ। कुनै पनि समस्या वा सूचना दिनुपरेमा नजिकको प्रहरी इकाई वा प्रहरी प्रमुखको मोबाइल नम्बर ९८५४०५५५५५मा सम्पर्क गर्न सक्नुहुनेछ ।

नागरिकका लागि केही सुरक्षा अपील छ कि ?

चाडपर्वको समयमा नागरिकहरूलाई पनि आफ्नो सुरक्षामा विशेष ध्यान दिन अनुरोध गर्दछु । घर छाडेर कतै जाँदा वा ताल्चा लगाउँदा छिमेकीलाई जानकारी गराउन,बढी भाडा असुल्ने वा सवारीसाधन नपाउने समस्या भए तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गर्दछु ।

अन्तमा, सम्पूर्ण जिल्लावासीहरूमा बडा दसैँ, तिहार तथा छठ पर्वको सुखद अवसरमा सुरक्षित र शान्तिपूर्ण ढङ्गले चाडपर्व मनाउन अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार