नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछापमा महाधिवेशन प्रतिनिधि तथा प्रदेश अधिवेशन प्रतिनिधि चयनका लागि मंगलबार मतदान भइरहेको छ।
जिल्ला निर्वाचन समितिका अनुसार बिहान ९ बजेदेखि सुरु भएको मतदानमा १ हजार ८०८ जना प्रतिनिधिले मतदान गर्नेछन्। केन्द्रीय महाधिवेशन प्रतिनिधिका ३२ पदका लागि १०८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
दलित कोटाबाट मुक्तबहादुर महते निर्विरोध निर्वाचित भइसकेकाले जिल्लाबाट निर्वाचित हुने ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्ये ३२ पदका लागि मात्र मतदान भइरहेको हो।
जिल्लाबाट संघीय महाधिवेशन प्रतिनिधितर्फ महिलाबाट ४, खुलाबाट १०, श्रमिकबाट १, पेसागत तथा विषय विज्ञबाट १, युवा महिलाबाट १, युवा खुलाबाट १, अपाङ्गता भएका व्यक्तिबाट १, अल्पसङ्ख्यकबाट १, दलितबाट १, प्रजातन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्वपीडितबाट १ र समानुपातिकतर्फ १० जना निर्वाचित हुनेछन्।
क्षेत्रीय सभापति, प्रदेशसभा क्षेत्रीय सभापति तथा गाउँ–नगर सभापतिहरू पदेन महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ। उनीहरूले मतदान गर्न पाउने भए पनि उम्मेदवार बन्न नपाउने जिल्ला निर्वाचन समितिले जनाएको छ।
त्यस्तै, रामेछापका दुई प्रदेशसभा क्षेत्रमा २४–२४ जना प्रदेश अधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन्। जिल्ला निर्वाचन समितिका अनुसार दुवै क्षेत्रमा केही प्रतिनिधि निर्विरोध निर्वाचित भइसकेका छन्। प्रदेशसभा क्षेत्र ‘क’ र ‘ख’ को सभापति पदका लागि भने तीन–तीन जना उम्मेदवार चुनावी मैदानमा छन्।
प्रदेश अधिवेशन प्रतिनिधितर्फ प्रत्येक क्षेत्रमा महिलाबाट २, खुलाबाट ८, पेसागत तथा विषय विज्ञबाट १, युवा महिलाबाट १, युवा खुलाबाट १, अपाङ्गता भएका व्यक्तिबाट १, श्रमिकबाट १, अल्पसङ्ख्यकबाट १, दलितबाट १, प्रजातन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्वपीडितबाट १ र समानुपातिकतर्फ ६ जना गरी २४ जना निर्वाचित हुनेछन्।
प्रदेशसभा क्षेत्रीय सभापति तथा गाउँ–नगर सभापतिहरू प्रदेश अधिवेशनका पदेन प्रतिनिधि हुनेछन्। मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा भइरहेको निर्वाचन समितिले जनाएको छ।


