ठूला सहरका विद्यालयहरू कम्तिमा एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

ठूला सहरका विद्यालयहरू कम्तिमा एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं उपत्यका सहित ठूला सहरका विद्यालयहरू कम्तिमा एक महिना बन्द गर्न सिफारिस गरेको छ । मन्त्रालयका सचिव लक्ष्मण अर्यालले उपत्यका सहित १५ वटा जिल्लाका ठूला सहरमा रहेका विद्यालय एक महिना बन्द गर्नका लागि सिसिएमसीमा प्रस्ताव गरेको जानकारी दिनुभयो ।

काठमाडौं उपत्यका सहित पोखरा, विराटनगर, वीरगन्ज सहित १५ वटा ठूला सहरमा सङ्क्रमण फैलन सक्ने भएकोले कम गर्न खोजेको उहाँले बताउनुभयो । उहाँले विद्यालय सहित पार्टी प्लालेस, मन्दिर, सिनेमा हल, रात्रिकालीन व्यवसाय पनि बन्द गर्न सिफारिस गरिएको उहाँले बताउनुभयो ।

विद्यालय बन्द गर्ने प्रस्ताव पुगे पनि सिसिएमसीले भने अहिलेसम्म यसबारे ठोस निर्णय लिएको छैन । पछिल्लो समय कोरोना भारइसको नयाँ भेरियन्ट्स फैलिएको र यसबाट बालबालिका समेत उच्च जोखिममा रहेको पाइएपछि मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेको हो ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा कोरोना सङ्क्रमणको जोखिम भएता पनि बन्दाबन्दीको स्थिति आउन नदिने नै प्रयास गरिरहेको बताउनुभएको छ । एक वर्षको अनुभव, तयारी र पूर्वाधार भएकाले त्यसलाई प्रभावकारी बनाइ बन्दाबन्दी हुन नदिने भन्ने प्रयत्न गर्ने मन्त्री त्रिपाठीले बताउनुभयो ।

स्वास्थ्य पत्रकार मञ्चले आज गरेको भेटघाटमा उहाँले कोरोना सङ्क्रमणको जोखिम अत्यधिक बढ्दै गएको बताउँदै एन्टिजेन परीक्षणहरु बढाएको उहाँको भनाइ छ ।जेठ र असार सम्म कोरोना सङ्क्रमितको संख्या उच्चतम बिन्दुमा पुग्ने सक्ने आंकलन छ ।

मन्त्री त्रिपाठीले दैनिक ११ हजार पुग्न सक्ने र सक्रिय सङ्क्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण रहेको बताउनुभयो । काठमाडौं उपत्यकामा ७ देखि ८ लाख विद्यार्थीहरु रहेको र शहरी क्षेत्रमा अनलाइन कक्षा सञ्चालन गर्न प्रस्ताव गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार