रामेछापमा आत्महत्या रोकथामसम्बन्धी सचेतना कार्यक्रम

रामेछापमा आत्महत्या रोकथामसम्बन्धी सचेतना कार्यक्रम

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा रामेछापमा आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय रामेछापको आयोजनामा मन्थली नगरपालिका–५ स्थित श्री भैरवी माध्यमिक विद्यालयमा आत्महत्या रोकथामसम्बन्धी प्रशिक्षण तथा सचेतना कार्यक्रम गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारको कमाण्डमा खटिएको प्रहरी टोलीले विद्यालयमा आत्महत्या रोकथाम, मानसिक तनाव व्यवस्थापन तथा जोखिममा रहेका व्यक्तिलाई समयमै सहयोग गर्नुपर्ने विषयमा प्रशिक्षण दिएको थियो । कार्यक्रमका क्रममा आत्महत्याका जोखिमका संकेत पहिचान गर्ने, समस्या तथा तनावमा रहेका व्यक्तिसँग सकारात्मक व्यवहार गर्ने र आवश्यक परेमा सम्बन्धित निकायबाट सहयोग लिनेजस्ता विषयमा समेत जानकारी गराइएको प्रहरीले जनाएको छ ।

कार्यक्रममा सहभागी विद्यार्थी तथा समुदायका व्यक्तिहरूलाई आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक पर्चा–पम्प्लेट वितरणसमेत गरिएको थियो । विश्व आत्महत्या रोकथाम दिवस हरेक वर्ष सेप्टेम्बर १० तारिखमा मनाइन्छ । आत्महत्या रोकथामका लागि जनचेतना अभिवृद्धि गर्ने, मानसिक स्वास्थ्यका विषयमा खुलेर कुरा गर्ने वातावरण बनाउने र समस्यामा परेका व्यक्तिलाई सहयोग तथा साथ प्रदान गर्ने उद्देश्यले विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार