रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा अन्तरवडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । रामेछाप नगरपालिका–५ वडा कार्यालयको आयोजनामा आगामी कात्तिक २० गतेदेखि २३ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगितामा रामेछाप नगरपालिका भित्रका साथै नगरपालिका बाहिरका अन्य स्थानीय तहका खेलाडीले समेत सहभागिता जनाउन सक्नेछन् । तर, सहभागी खेलाडी एउटै वडाका हुनुपर्ने र सम्बन्धित वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ८० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, द्वितीय हुने टोलीले ५० हजार, तृतीय हुने टोलीले ३० हजार र सान्त्वना हुने टोलीले १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १ हजार ५०० रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ । उत्कृष्ट सेटर, सर्भर, स्पाइकर, लिबेरो र ब्लकरलाई जनही एक हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने वडा कार्यालयले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन टिममा ९ जना खेलाडी र एक जना टिम कोच अनिवार्य हुनुपर्नेछ । खेलाडीले वडा परिचय खुल्ने कागजात र सम्बन्धित वडा कार्यालयको सिफारिससहित टिम दर्ता गर्नुपर्नेछ । खेल नकआउट प्रणालीमा सञ्चालन हुनेछ ।
टिम दर्ताका लागि पाँच हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । कात्तिक १८ गते बिहान १० बजेदेखि कात्तिक १९ गते साँझ ५ बजेसम्म टिम दर्ता गर्न सकिनेछ ।
प्रतियोगिताको उद्घाटन कात्तिक २० गते बिहान ९ बजे र समापन कात्तिक २३ गते हुने आयोजकले जनाएको छ । प्रतियोगिता रामेछाप नगरपालिका–५ स्थित श्री जनता माध्यमिक विद्यालय, कोलन्जोरको प्राङ्गणमा सञ्चालन हुनेछ ।


