रामेछाप अस्पतालमा सात विशेषज्ञ चिकित्सकबाट सेवा, जिल्लामै विशेषज्ञ उपचारको पहुँच विस्तार

रामेछाप अस्पतालमा सात विशेषज्ञ चिकित्सकबाट सेवा, जिल्लामै विशेषज्ञ उपचारको पहुँच विस्तार

रामेछाप अस्पताल रामेछापले विभिन्न विधाका सात जना विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य सेवा प्रदान गरिरहेको छ। अस्पतालमा विशेषज्ञ चिकित्सकको उपलब्धतासँगै जिल्लामै विभिन्न जटिल तथा विशेषज्ञ उपचार सेवा लिन सकिने अवस्था बनेको छ।

अस्पतालका अनुसार हाल हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसूति रोग, जनरल फिजिसियन, मानसिक तथा नशा रोग र आकस्मिक तथा सामान्य चिकित्सा सेवातर्फ विशेषज्ञ चिकित्सकहरूले सेवा दिइरहेका छन्।

अस्पतालमा डा. सागर जर्घामगर र डा. सुरोज हाकुदुवा ले हाडजोर्नी तथा नशा रोगसम्बन्धी विशेषज्ञ सेवा दिइरहेका छन्। त्यस्तै डा. कल्पना बज्राचार्य र डा. मुना के.सी. ले स्त्री तथा प्रसूति रोगसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिरहेका छन्।
त्यसैगरी डा. प्रकाश ढुंगेल ले जनरल फिजिसियनका रूपमा सेवा दिइरहेका छन् भने डा. बिजया सत्याल ले मानसिक तथा नशा रोगसम्बन्धी विशेषज्ञ सेवा दिइरहेकी छन्। डा. सौरभ कार्की ले एमडीजीपी तथा इमर्जेन्सी मेडिसिनसम्बन्धी सेवा प्रदान गरिरहेका छन्।

विशेषज्ञ चिकित्सकहरूको उपस्थितिले सामान्य उपचारदेखि विशेषज्ञ परामर्श आवश्यक पर्ने बिरामीका लागि समेत जिल्लामै उपचारको पहुँच बढाएको अस्पतालले जनाएको छ। यसअघि विशेषज्ञ सेवा लिन जिल्ला बाहिर जानुपर्ने अवस्थाका बिरामीले स्थानीयस्तरमै परामर्श तथा उपचार सेवा पाउने अवसर बढेको छ।

अस्पतालले उपलब्ध विशेषज्ञ चिकित्सक तथा उनीहरूले प्रदान गर्ने सेवाबारे जानकारी सार्वजनिक गर्दै आवश्यक स्वास्थ्य समस्या भएका नागरिकलाई उपलब्ध विशेषज्ञ सेवा उपयोग गर्न आग्रह गरेको छ।

रामेछाप अस्पतालमा सात विधाका विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध हुनु जिल्लाको स्वास्थ्य सेवाका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार