नयाँ वर्ष २०७८ः राष्ट्रपति सहित विभिन्न शिर्ष व्यक्तित्वको शुभकामना व्यक्त

नयाँ वर्ष २०७८ः राष्ट्रपति सहित विभिन्न शिर्ष व्यक्तित्वको शुभकामना व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले विकासको गतिलाई जनताका अपेक्षासँग समानान्तर रूपले अगाडि बढाउनु नै मुलुकको राष्ट्रिय लक्ष्य हुनुपर्ने बताउनुभएको छ ।राष्ट्रपति भण्डारीले नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश दिनुहुँदै ऐतिहासिक राजनीतिक परिवर्तनपश्चात् भौतिक पूर्वाधार एवं मानव संसाधनको विकासले सामाजिक र आर्थिक प्रगतितर्फ मुलुक अग्रसर बनेको उल्लेख गर्नुभएको छ ।

उहाँले विगतको समीक्षा र आगतको आकाङ्क्षा मुखरित गर्ने अवसरका रूपमा समेत नयाँ वर्षलाई लिइने चर्चा गर्नुहुँदै राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले २०७७ उपलब्धिपूर्ण वर्ष रहेको बताउनुभयो ।उहाँले नेपालको नयाँ राजनीतिक नक्सासहितको निशाना छाप परिवर्तनका लागि नेपालको संविधान संशोधन गर्न सम्पूर्ण राजनीतिक दलबीच एकता कायम हुनुलाई राजनीतिक उपलब्धि भएको सन्देशमा व्यक्त गर्नुभएको छ ।

यसैगरी उपराष्ट्रपति नन्द बहादुर पुनले नयाँ वर्षले सबैको मुहारमा खुशी छाउने आशा जगाउने भन्दै मुलुकले स्थायीत्व पाउने बताउनुभयो । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिँदै मुलुक फेरी कोरोना महामारीको चपेटामा पर्न थालेको भन्दै सबैलाई सचेत भएर नयाँ वर्ष मनाउन आग्रह गर्नुभयो ।

यस्तै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले नयाँ वर्षसँगै राजनीतिक दलबीच नयाँ समन्वय र समझदारी कायम हुने अपेक्षा गर्नुभएको छ । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै सभामुख सापकोटाले सकारात्मक परिवर्तनका लागि आपसी सहकार्य र सहमतिले मात्र मुलुकलाई अगाडि बढाउन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना भाइरस संक्रमणको दोस्रो लहरले संसारभर नै जनजीवन प्रभावित बनेको अवस्थामा सचेत बनेर नयाँ वर्ष मनाउन आग्रह गर्नुभयो । नयाँ वर्षको शुभकामना दिँदै उहाँले महामारी छिट्टै अन्त्य हुने र मानिसको जनजीवन सामान्य अवस्था फर्किने विश्वास व्यक्त गर्नुभयो । यस्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २०७७ साल प्राणघातक कोरोना भाइरसबाट आक्रान्त भएकाले नयाँ वर्षले यसबाट विजयी प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार