रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि रामेछाप नगरपालिकाले ४० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार भदौ १० गते भोटेकोशीमा आएको अकल्पनीय बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै सहयोगको घोषणा गरिएको हो। भोटेकोशी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति छ ।
नगरपालिकाले विपद्को समयमा आवश्यक साथ, सहयोग, समन्वय र सहकार्य गर्नु सबैको दायित्व भएको भन्दै जनप्रतिनिधिहरूको सेवा सुविधाबाट १० दिन बराबरको पारिश्रमिक, नगरपालिकामा कार्यरत कर्मचारी तथा शिक्षकहरूको तर्फबाट संघीय सरकारले निर्णय गरेबमोजिमको रकम र नगरपालिकाको प्रकोप व्यवस्थापन कोषबाट गरी कुल ४० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ।
नगर प्रमुख लवश्री न्यौपानेद्वारा जारी विज्ञप्तिमा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ। साथै बाढीमा परी बेपत्ता भएका नागरिकको शीघ्र खोजी तथा उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
नगरपालिकाले विपद्को कठिन परिस्थितिमा राज्यका सम्पूर्ण संयन्त्र, सामाजिक संघसंस्था तथा नागरिक समाजलाई उच्चतम समन्वयका साथ उद्धार, राहत तथा सहयोगका कार्यमा जुट्नसमेत अपिल गरेको छ।



