भदौ १० मा रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन बनेका रामेछापका आफन्तको डिएनए नमुना संकलन गरिँदै छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल राउतका अनुसार सम्पर्कविहीन व्यक्तिका परिवारलाई भदौ २६ गते सदरमुकाम मन्थलीमा उपस्थित भएर डिएनए परीक्षणका लागि आवश्यक रगतको नमुना दिन आग्रह गरिएको छ ।
हराइरहेका व्यक्तिको डिएनए प्रोफाइलसँग तुलना गर्न उनका ‘फस्ट्र डिग्री रिलेटिभ’ अर्थात् बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको ताजा रगतको नमुना आवश्यक पर्ने प्रहरीले जनाएको छ ।
नमुना दिन आउने आफन्तले आफ्नो नागरिकता, सम्पर्कविहीन व्यक्तिसँगको नाता खुल्ने कागजात र दुई प्रति फोटो ल्याउनुपर्नेछ । बाढीपछि विभिन्न स्थानमा फेला परेका शव तथा शरीरका अंगहरूको सही पहिचान र सनाखत गर्न डिएनए परीक्षणलाई आधार बनाइने भएको हो ।
सोही क्रममा रामेछापबाट सम्पर्कविहीन भएका व्यक्तिका आफन्तको नमुना संकलन गरी फेला परेका शव तथा अङ्गहरूसँग डिएनए परीक्षणमार्फत मिलान गरिने प्रहरीले जनाएको छ । बाढीपछि बेपत्ता भएका ४४ जना अझै परिवारको सम्पर्कमा आएका छैनन् । अझै सम्पर्कमा नआएका ४४ जनाको पहिचानका लागि प्रहरीले उनीहरूका नजिकका आफन्तको डिएनए नमुना संकलन गर्ने तयारी थालेको छ ।
बाढी प्रभावित विभिन्न स्थानबाट रामेछापका ८० जनाभन्दा बढी सम्पर्कविहीन भएको भन्दै आफन्तले प्रहरीमा जानकारी गराएका थिए । तीमध्ये ३६ जना भने सम्पर्कमा आइसकेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।सम्पर्कविहीनमध्ये मन्थली नगरपालिका–४ सालु कबिलासका प्रहरी सहायक निरीक्षक रामहरी खड्काको शव चितवनमा फेला परेको थियो । रसुवाको टिमुरेमा कार्यरत खड्का बाढीपछि सम्पर्कविहीन भएका थिए ।


