रामेछापका विभिन्न ठाउँहरुमा चोरी गर्ने गिरोह पक्राउ

रामेछापका विभिन्न ठाउँहरुमा चोरी गर्ने गिरोह पक्राउ

रामेछाप प्रहरीले चोरीमा संलग्न ५ जनाको गिरोहलाई पक्राउ गरेको छ । उनीहरुलाई भक्तपूरका विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

भदौ १८ गते राती रामेछापको खाँडादेवी गाउँपालिका वडा २ मझुवास्थित ८५ वर्षको बखतमान लामा र उनकी श्रीमती ८६ वर्षकी कान्छी माया तामाङ आफ्नै घरमा सुतिरहेको अवस्थामा ३ जनाको समूहले उनीहरुको हात बाँधी मुख थुनी आँखामा पट्टी बाँधेर ज्यान मार्ने धम्की दिई गरगहना तथा घरमा राखेको नगद चोरी गरेका थिए ।

उनीहरुलाई चोरीका सामान तथा चोरीमा प्रयोग गरेका सवारी साधानसहित भदौ २० गते भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सिन्धुली जिल्ला घ्याङलेक गाउँपालिका २ बस्ने २५ वर्षका सुमन जर्घा मगर, रामेछापको खाँडादेवी गाउँपालिका २ बस्ने वर्ष ३२ का दिर्घराज मोक्तान र रामेछापको खाँडादेवी गाउँपालिका २ बस्ने वर्ष ३३ को पशुपति श्रेष्ठ रहेका छन् ।

यस्तै, झापाको दमक नगरपालिका ७ बस्ने ४४ वर्षीय पिताम्बर गहतराज र धनकुटाको बेलाहारा नगरपालिका ५ बस्ने ३८ वर्षका दिपक भनिने गुणराज विश्वकर्मा पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट प्रहरीले मोटरसाइकल, नगद र गहनासमेत बरामद गरेको छ ।

यसैगरी, पक्राउ परेकामध्ये पशुपति श्रेष्ठको समूहले रामेछापको खाँडादेवी गाउँपालिका ७ स्थित रुद्रेश्वर महादेव मन्दिरको दान पेटिका फुटाई रकम चोरी गरेको समेत खुलेको छ । यस्तै, उनकै समूहले गत असार १ गते खाँडादेवी गाँउपालिका ३ बस्ने सुन्दरी श्रेष्ठको घरबाट एउटा खसी र भदौ ७ गते खाँडादेवी गाउँपालिका ०३ भिरपानी बस्ने राम बहादुर श्रेष्ठको गोठबाट एउटा बोकासमेत चोरी गरेको खुलेको प्रहरीले जनाएको छ ।

श्रेष्ठ समेतको समूह काठमाडौँमा सुनको सिक्री लुट्ने घटनामा संलग्न भएको देखिएपछि २०८० साल असोज १४ गते प्रहरी बृत कालीमाटीले उनीविरुद्द डाँका तथा चोरी कसूरमा मुद्दा चलाएको पाइएको छ ।

यसैगरी, भदौ १८ गते रामेछापको सुनापती गाउँपालिका २ दिमीपोखरी बस्ने वर्ष ७५ को इमान सिं तामाङको घरबाट ७८ हजार चोरी गरेको कसूरमा थप २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको सुनापती गाउँपालिका २ नयाँ पानी ट्याङ्की टोल बस्ने ३४ वर्षका आकाश लामा र उनका छोरा १९ वर्षीय सन्दिप तामाङ रहेका छन् । प्रहरीले सोमबार प्रक्राउ परेकाहरुलाई पत्रकार सम्मेलनगरी सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार