रामेछापका ग्रामीण तथा विकट गाउँबस्तीमा सडक सञ्जाल विस्तार भएसँगै स्थानीय कृषि उपजले गाउँमै बजार पाउन थालेको छ । सडक पुगेपछि किसानले उत्पादन गरेका तरकारी तथा फलफूल बिक्रीका लागि टाढाको बजार धाउनुपर्ने बाध्यता घट्दै गएको हो ।
गाउँघरमै गाडी पुग्न थालेपछि व्यापारी तथा व्यवसायीले किसानका उत्पादन गाउँमै पुगेर खरिद गर्न थालेका छन् । काँक्रा, फर्सी, साग, इस्कुसलगायत विभिन्न तरकारी तथा फलफूल गाउँमै पुग्ने बोलेरोलगायतका सवारीसाधनले खरिद गरेर लैजाने गरेका छन् ।
रामेछाप नगरपालिका–४ चिलाउनेखर्कमा स्थानीय किसानले उत्पादन गरेका कृषि उपज एकै ठाउँमा संकलन गर्ने गरिएको छ । संकलन गरिएका कृषि उपज खरिद गर्न दुई–तीनवटा बोलेरो गाडी नियमित रूपमा गाउँमै पुग्ने गरेका छन् । गाडी स्थानीय उत्पादन लिन गाउँ पुगेका बेला त्यहाँ सानो बजार नै लाग्ने गरेको स्थानीयको भनाइ छ ।
किसानले उत्पादन गरेका तरकारी तथा फलफूल घरआँगनबाटै बिक्री हुन थालेपछि उत्पादन बजारसम्म पु¥याउने झन्झटसमेत घटेको छ । यसले ग्रामीण क्षेत्रमा कृषि उत्पादनतर्फ किसानको आकर्षण बढाउनुका साथै उत्पादनलाई व्यावसायिक बनाउनसमेत सहयोग पुगेको स्थानीयको अपेक्षा छ ।
रामेछापको भालुखोप, ओख्रेनी, रामपुरलगायतका गाउँ तथा बस्तीमा उत्पादन भएका तरकारी तथा फलफूल स्थानीय बजार हुँदै राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लासम्म पुग्ने गरेका छन् ।
यसअघि सडक तथा यातायातको सहज पहुँच नहुँदा गाउँमा उत्पादन भएका कृषि उपज बिक्री गर्न समस्या हुने गरेको थियो । कतिपय अवस्थामा उत्पादन भएको वस्तु गाउँमै खेर जाने अवस्था रहे पनि अहिले गाडी गाउँमै पुगेर खरिद गर्न थालेपछि किसानलाई राहत मिलेको छ ।
घर–गाउँबाटै आफ्ना उत्पादन बिक्री गर्न पाउँदा स्थानीय किसानसमेत खुशी भएका छन् । सडक सञ्जालको विस्तारसँगै उत्पादनको बजार सुनिश्चित हुँदै गएमा रामेछापका ग्रामीण क्षेत्रको कृषि व्यवसाय अझै विस्तार हुन सक्ने किसानहरूको विश्वास छ ।


