वीरगञ्जमा समुदायस्तरमा कोरोना भाइरस फैलिएको आशंका

वीरगञ्जमा समुदायस्तरमा कोरोना भाइरस फैलिएको आशंका

वीरगञ्जमा समुदायस्तरमा नोबेल कोरोना भाइरसको सङ्क्रमण भए नभएको बारेमा जाँचपछि मात्र भन्न सकिने सरकारले जनाएको छ । हालसम्म भेटिएका सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको पीसीआर जाँच धमाधम भइरहेकाले उनीहरूको जाँचको रिपोर्ट नआएसम्ममा यसै भन्न नसकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

उहाँका अनुसार वीरगन्जलगायत धेरै सङ्क्रमित भेटिएको स्थानमा मन्त्रालय मातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले खोजी एवम् जाँचलाई तीव्रता दिएको छ । सरकारले कोरोनामुक्त हुने दर ७० दशमलव ३९ प्रतिशत रहेको बताए पनि दैनिक भइरहेको मृत्यु र सङ्क्रमणको गतिले समुदायस्तरमा नै कोरोना फैलिएको विज्ञहरूले बताएका छन् । अव्यावहारिक नीतिले पछिल्लो समय वीरगञ्ज महानगरपालिकाको समुदायमा कोरोना सङ्क्रमण फैलिएको चिकित्सकहरूको भनाइ छ ।

वीरगन्जवासीले आफैँ पैसा तिरेर पीसीआर विधिबाट कोरोना परीक्षण गरेपछि समुदायस्तरमै कोरोना फैलिइसकेको अवस्था देखिएको हो । नारायणी अस्पतालको विवरणअनुसार हिजोसम्म एक सय ८८ जनाले पैसा तिरेर स्वाब परीक्षण गराएका छन् । जसमध्ये २५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । अधिकांश सङ्क्रमितमा लक्षण पनि देखिएको चिकित्सकहरू बताउँछन् । सङ्क्रमित हुनेहरू उद्योगका कर्मचारी, चिकित्सक, विद्यार्थी, अस्पतलामा भर्ना भएका विरामी लगायत रहेका छन् ।

वीरगन्ज महानगरपालिकाका प्रमूख विजयकुमार सरावगीले राज्यको गलत नीतिका कारण वीरगन्जमा समुदायमा कोरोना फैलिएको बताउनुभयो । जिल्लामा निषेधाज्ञा जारी गर्ने र थप सावधानी अपनाउने बारेमा स्थानीय प्रशासनले छलफल गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार