जेष्ठ नागरिक द्वय देविप्रसाद भट्टराई र छविलाल भट्टराई भन्नु हुन्छ वि.सं. १९९० को महाभुकम्पपछि एउटा सानो धर्सो÷खोल्सीको रुपमा तिमी देखा परेका रहेछौ । दिन बित्दै जाँदा तिमीले आफ्नो रुप पनि परिवर्तन गर्दै गएछौ । वि.सं. २०११ सालमा पहिरोको रुप धारणा गरी वि.सं. २०४१ देखि २०४४ सम्म त झन विकराल पहिरोको रुप लिन पो पुगेछौ । स्थानीय वुद्धिजीवि सोमप्रसाद भट्टराई र हरि प्रसाद भट्टराईका भनाइअनुसार त झन वि.सं. २०५२ सालमा आएर एउटा डरलाग्दो घ्याप्चे पहिरोको नाम पाएछौ । म.न.पा. वडा नं. ३ कठजोर–अर्चले र म.न.पा. वडा नं १ र ३ का समेत गरी हजारौँ रोपनी खेती योग्य जमीन भिर पाखालाई झार्दै बगाउँदै रणजोर खोलाको रुप लिई पवित्र तामाकोशी नदीलाई समेत धमिल्याउँदै अगाडि बढ्न थालेछौ ।
तिमीले त आफ्नो उग्र रुप देखाउँदै समय–समयमा मानिस लगायत अन्य जीवजन्तुलाई पनि बगाउन थाल्यौ । तिमीले न त हलो जुवा बोकेर पार गर्न लागेको मानिसलाई छोड्यौ न त गाईबस्तु, बाख्रा र परीक्षा दिन हिडेकी अवोध बालिकालाई नै छाड्यौ । आखिर बगाएर छाड्यौ सबैलाई ।
मुहानमा वर्षा भएपछि तिमीले त यसरी आफ्नो बगाइको रुप पनि फेर्यौ कि कहिले सुनसान आवाज विहिन त कहिले ठूलै कम्पन भए जतिकै । तिम्रो रुप व्यहवार नचिन्नेलाई त पीडा दिएरै छोड्यौ । सायद तिम्रो प्रकृति र व्यहवारले गर्दा होला म.न.पा. वडा नं. ३ र ४ का ७० घरधुरीलाई उच्च जोखिम मा पुर्यायौ । म.न.पा. को कुल क्षेत्रफल २११.७८ वर्ग कि.मि. मध्ये २३.८९ वर्ग कि.मि. क्षेत्रफल तिमीले प्रभावित पार्दै ११ कि.मि. लामो रणजोर खोलाको सृजना पनि गरेका रहेछौ । (कुशुम भट्टराई सन् २०२०, एम एस्सी रिसर्च पेपर)
सायद भर्खरै (२०७८-०४-२२) गते तिमीले पुनः उग्र रुप लिई आसपासका मानव जातिलाई तर्साइ रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा सुरक्षित रहनका लागि माइकिङ्ग गर्न समेत बाध्य तुल्याएर छोड्यौ । तिम्रो असरले आसपास क्षेत्रका मानिसले न त राम्रो सँग सास फेर्न सके न त जीवजन्तुले नै । पुनः पानी नपरी गाइबस्तुले घाँसपातसमेत खाने अवस्था पनि रहेन तिम्रा कारण उत्पादित धुलो प्रदुषणले । न त वर्षा याममा रोकिन्छौ न त हिउँदमानै । बारम्बार ढुङ्गा माटो काठ दाउरा झारिरहन्छौ अनि वर्षाद सँगै त्यस्ता बस्तुलाई बढारी रहन्छौँ । खै ! तिम्रो गन्तव्य कहाँ हो र कहिले सम्म हो । खै ! तिमीले त गैराथोक, अर्चले र सामलिस्थानको जग्गा कटान गरी तल्लो क्षेत्र मन्थली आसपासको खेतियोग्य जमिन पुरिदियौ र अझ पुर्न सक्ने सम्भावना बढाइ रह्यौ । यति मात्र कहाँ हो र पानीका मुहान, प्राकृतिक तथा जैविक सम्पदा, रणजोर खोलामा निर्माण सम्पन्न भएको र निर्माणाधिन पक्की पुल, सिंचाइका साना ठूला कुलाहरूलाई पनि क्षति पु¥याउने सम्भावना बढाइ रह्यौ ।
खै ! वातावरणीय अध्ययन गरी इन्जिनियरिङ तथा बायो इन्जिनियरिङ विधिको प्रयोग गर्दै केही हदसम्म तिमीले पु¥याएका असरहरू कम गर्न सकिन्छ कि ? कतै–कतै सुनिन्छ कता तिमी भित्र अमूल्य खनिज पदार्थहरू पनि पो छन् कि ? सम्भाव्यता अध्ययन गरी तिमीबाट अमूल्य सम्पत्ती देशले प्राप्त गर्न पो सक्छ कि ? तर यति कै मा तिमी चुप लाग्ने अवस्थामा देखिदैनौ । सक्छौ तिमी विद्यमान अवस्थामा नै अन्त्य हौ । सक्दैनौ तिमी अब कहिल्यै नरिसाउ अनी तिमीले आफ्नो उग्र र डरलाग्दो रुप पनि नदेखाउ ।
मेघ प्रसाद भट्टराई
क्याम्पस प्रमुख
श्री गौरीशङ्कर बहुमखी क्याम्पस, रामेछाप ।