रामेछापको रामेछाप नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । पालिकाभित्रका लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार आवश्यक खोप प्राप्त गरेपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
बुधबार नगरपालिकाले आयोजना गरेको घोषणा कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्नुहँदै जिल्ला समन्वय समितिका प्रमुख चिना खड्का काकीले बालबालिकालाई रोगबाट सुरक्षित राख्न खोप कार्यक्रम प्रभावकारी बनेको बताउनुभयो । हरेक वर्ष हुने यस्ता कार्यक्रममले कुनै पनि बालबालिका खोपबाट बन्चित नहुने सन्देश दिने उहाँको भनाई छ ।
जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु झाले उमाकुण्ड गाउँपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको बताउनुभया । रामेछाप नगरपालिका जिल्लामा दाश्रो पालिका घोषणा भएको बताउनुभयो ।
कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमख लबश्री न्यौपाने र उपप्रमुख बाल कुमारी कार्कीले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्नमा सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँहरुले यसलाई दिगोपना कायम राख्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख विष्णु बहादुर कार्कीका अनुसार पालिकाभित्रका सबै वडामा नियमित खोप कार्यक्रम सञ्चालन गरिएको छ भने छुटेका बालबालिकालाई समेत खोजी गरी खोप सेवा प्रदान गरिएको थियो । पूर्ण खोप सुनिश्चितता कायम राख्न आगामी दिनमा पनि नियमित अनुगमन तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
कार्यक्रममा स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान समेत गरिएको थियो ।


