रामेछापको बिर्तामा बेमौसमी तरकारी खेती सीप विकास तालिम सुरु

रामेछापको बिर्तामा बेमौसमी तरकारी खेती सीप विकास तालिम सुरु

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ बिर्तामा बेमौसमी तरकारी खेती सीप विकास तालिम सुरु भएको छ । उद्योग तथा वाणिज्य कार्यालय रामेछापको आयोजना,रामेछाप नगरपालिकाको समन्वय र हायु समाज नेपालको सहजीकरणमा तालिम संचालन गरिएको हो ।

आईतबार देखी सुरु भएको तालिम ७ दिनसम्म चल्नेछ । बोटे,माझी,हायु,मुहसर र वनकरिया समुदायका लागि स्वरोजगार कार्यक्रम अन्तर्गत उक्त तालिम संचालन गरिएको हो । तालिममा १० जना हायु समुदायका महिला,पुरुषहरुको सहभागिता रहेको छ ।

तालिम उद्धघाटन कार्यक्रममा बोल्नुहँदै रामेछाप नगरपालिका ७ का वडाअध्यक्ष समिर कार्कीले उर्वर भूमि बिर्तामा यस तालिमले बेमौसमी तरकारी खेती सम्बन्धि सीप विकास हुने आफु विश्वस्त रहेको बताउनुभयो । तरकारी खेतीको राम्रो सम्भावना रहेको बिर्तालाई तरकारी पकेट क्षेत्र बनाउन यस्ता तालिमहरुले सहयोग पुर्याउने उहाँको भनाई छ ।

कृषिमा आधुनिक प्रविधि अपनाउँदै किसानहरूको आयआर्जन वृद्धि गर्ने उद्देश्यले बेमौसमी तरकारी खेती सम्बन्धी सीप विकास तालिम प्रदान गरिएको उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रमुख खेमराज घिमिरे जानकारी दिनुभयो ।

तालिममार्फत सहभागीहरूलाई बेमौसमी तरकारी उत्पादन प्रविधि, प्लास्टिक टनेल (टनेल हाउस) निर्माण, उन्नत बीउ छनोट, रोग–कीरा व्यवस्थापन, मलखाद प्रयोग तथा बजार व्यवस्थापनका विषयमा व्यावहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिनेछ।

तालिममा सहभागी किसानहरूलाई प्रयोगात्मक अभ्यासमा विशेष जोड दिइनेछ। तालिम सम्पन्न भएपछि सहभागीहरूले आफ्नै स्थानमा व्यवसायिक तरकारी खेती सुरु गर्ने अपेक्षा गरिएको छ। स्थानीय कृषकहरूले यस्ता सीपमूलक तालिमले आफूहरूलाई आत्मनिर्भर बन्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। प्रशिक्षक अनिल पोखरेलले बेमौसमी तरकारी खेती सीप विकास तालिम दिनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार