रामेछापको रामेछाप नगरपालिका– वडा नं ७ मा बिर्तामा हाते ट्याक्टर मर्मत सीप विकास तालिम सुरु भएको छ । आईतबारदेखी सुरु भएको ७ दिने तालिम ९ गतेसम्म चल्नेछ ।
उद्योग तथा वाणिज्य कार्यालय रामेछापको आयोजना,रामेछाप नगरपालिकाको समन्वय र हायु समाज रामेछापको सहजीकरणमा तालिम संचालन गरिएको हो ।
बोटे,माझी,हायु,मुहसर र वनकरिया समुदायका लागि स्वरोजगार कार्यक्रम अन्तर्गत उक्त तालिम संचालन गरिएको हो । तालिममा १० जना हायु समुदायका पुरुषहरुको सहभागिता रहेको थियो ।
तालिम उद्धघाटन कार्यक्रममा बोल्न हुँदै रामेछाप नगरपालिका वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले कृषिमा प्रयोग हुने हाते ट्याक्टर निर्माण सम्बन्धी तालिम सिकेर दक्ष बन्न आग्रह गर्नुभयो । उहाँले यस्तो सीपहरुले स्थानीय युवालाई स्वरोजगार र कृषि आधुनिकीकरणमा टेवा पु¥याउने बताउनुभयो । तालिमले स्थानीय स्तरमै कृषि उपकरण निर्माण तथा मर्मत सम्भार गर्ने जनशक्ति उत्पादन हुने अपेक्षा गरिएको उहाँको भनाई छ ।
तालिममा सहभागीलाई हाते ट्याक्टर निर्माण, मर्मत तथा सञ्चालन सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिने उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रमुख खेमराज घिमिरे जानकारी दिनुभयो । तालिम पश्चात स्थानीय किसानले प्रयोग गर्ने कृषि औजारको मर्मतका लागि बाहिर जानुपर्ने बाध्यता घट्ने तथा कृषि उत्पादन लागत कम गर्न समेत तालिमले सहयोग पुग्ने विश्वास गरिएको उहाँको भनाई छ । प्रशिक्षक बद्रि थापाले हाते ट्याक्टर मर्मत सम्बन्धि सीप विकास तालिम दिनुहनेछ ।


