कोरोना सङ्क्रमितका लागि प्रभावकारी मानिएको ‘रेमडिसिभिर’ नामक औषधि दर्ता प्रक्रियामा औषधि व्यवस्था विभागले आलटाल गरेको पाइएको छ । दर्ता नहुदा औषधि अवैध तरिकाले नेपाल भित्रिने गरेको पाइएको छ । स्रोतका अनुसार केही आयातकर्ताले ‘रेमडिसिभिर’ नामक औषधि कोलकाता हुँदै नेपाल ल्याउने गरेका छन् । पटके सिफारिसबाट पनि औषधि आयात गर्न सकिने व्यवस्था छ । रेमडिसिभिर नामक औषधि दर्ता गर्न औषधि व्यवस्था विभागले आलटाल गर्दा गैरकानुनी तरिकाले नेपाल भित्रिएर कालोबजारी हुने सरोकारवाला निकायका प्रतिनिधिले टिप्पणी गरेका छन् । परभाइल ४० देखि ५० हजार रुपैयाँसम्म किन्नुपर्ने बाध्यता छ ।
रेमडिसिभिर नामक औषधि दर्ता हुनसके परभाइल ७ हजार रुपैयाँसम्म आयात गर्न सकिने आयातकर्ता बताउँछन् । अमेरिकाको जिलिड फर्मासिटिकल्सले उत्पादन गरेको रेमडिसिभिरलाई अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले कोभिड १९ का सङ्क्रमितमा प्रभावकारिता अध्ययन गर्न स्वीकृति दिएको छ । प्रभावकारी मानिएको यो औषधिको उत्पादन नेपालमा हुँदैन । विभागले दर्ता गर्न आनाकानी गर्दा नेपाली बजारमै कालोबजारी बढ्ने देखिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले विश्व स्वास्थ्य संगठनको आग्रहमा रेमडिसिभिर लगायत अन्य तीन किसिमका औषधिको वैशाखमै तेस्रो चरणको क्लिनिकल ट्रायलमा सहभागी हुने निर्णय गरेको थियो ।