देउसी–भैलो कार्यक्रम मर्यादित र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय रामेछापको आग्रह

देउसी–भैलो कार्यक्रम मर्यादित र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय रामेछापको आग्रह

जिल्ला प्रशासन कार्यालय रामेछापले नेपालीहरूको महान् चाड तिहार तथा छठ पर्वको अवसरमा खेलिने देउसी–भैलो कार्यक्रमलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन जिल्लावासीलाई आग्रह गरेको छ।

कार्यालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै मौलिक संस्कृति, परम्परा, सामाजिक सद्भाव र आपसी भाइचारालाई कायम राख्दै देउसी–भैलो कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको हो।

सूचनामा देउसी–भैलो कार्यक्रम सञ्चालन गर्दा सार्वजनिक शान्ति सुरक्षा, सामाजिक सद्भाव तथा नागरिकको सहज आवागमनमा असर नपर्ने गरी आवश्यक मापदण्ड पालना गर्न भनिएको छ।

प्रशासनले देउसी–भैलोमा सहभागी हुने व्यक्तिहरूलाई मादक पदार्थ सेवन गरी कार्यक्रम सञ्चालन नगर्न, होहल्ला, झैझगडा तथा सार्वजनिक शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न सचेत गराएको छ।

त्यस्तै, निजी आवास, घर, कार्यालय तथा व्यापारिक प्रतिष्ठानमा देउसी–भैलो खेल्न जाँदा सम्बन्धित घरधनी वा सञ्चालकको पूर्वस्वीकृति लिनुपर्ने, अनुमति नलिई जबर्जस्ती कार्यक्रम सञ्चालन नगर्न तथा चन्दा वा दक्षिणा माग्ने कार्य नगर्न आग्रह गरिएको छ। सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा क्षति पुर्‍याउने, हानि नोक्सानी गर्ने र फोहोरमैला गर्ने गतिविधि नगर्न पनि सूचनामार्फत अनुरोध गरिएको छ।

यसैगरी, सार्वजनिक स्थानमा कार्यक्रम सञ्चालन गर्दा ध्वनि प्रदूषण हुने गरी अत्यधिक ठूलो आवाजमा ध्वनि उपकरण प्रयोग नगर्न, अस्पताल, स्वास्थ्य संस्था, विद्यालय तथा अन्य संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।

पटाका, आतसबाजी, रकेट, विस्फोटक पदार्थ तथा आगजनी वा चोटपटकको जोखिम हुने सामग्रीको प्रयोग, ओसारपसार, बिक्री वितरण तथा भण्डारण नगर्न पनि सूचनामा उल्लेख गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले प्रचलित कानुनी व्यवस्था तथा ध्वनि प्रदूषणसम्बन्धी मापदण्ड प्रभावकारी रूपमा पालना गर्दै तिहारको सांस्कृतिक महत्त्व र मौलिकता जोगाउन सबै जिल्लावासीमा अनुरोध गरेको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर के.सी.द्वारा जारी सूचनामा तिहार र छठ पर्वलाई शान्तिपूर्ण, सभ्य, सुरक्षित तथा उल्लासमय वातावरणमा मनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार