स्थानीय कला र संस्कृतिको प्रवर्द्धन गर्न ‘च्यास्कु बजारैमा’ गीतको भिडियो निर्माण

स्थानीय कला र संस्कृतिको प्रवर्द्धन गर्न ‘च्यास्कु बजारैमा’ गीतको भिडियो निर्माण

रामेछाप। मौलिक कला, संस्कृति र लोकसङ्गीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको ‘संस्कृति भाग–२ : च्यास्कु बजारैमा’ गीतको भिडियो छायाङ्कन रामेछापको रामेछाप नगरपालिका ६ ओख्रेनी च्यास्कुमा सम्पन्न भएको छ।

संस्कृति जोगाउ अभियान परिवारको व्यवस्थापनमा सम्पन्न भिडियो छायाङ्कनमा संस्कृतिप्रेमी महानुभावहरूको प्रत्यक्ष सहभागिता रहेको थियो। उक्त अभियानलाई रामेछाप नगरपालिका वडा नं. ६ वडा कार्यालय तथा बज्र समाज नेपाल, डाङ्सिङ्टारले आर्थिक सहयोग, सहकार्य र समन्वय गरेका छन्।

गीतमा ङावा फिन्जु पाख्रीनको लय तथा शब्द सङ्कलन रहेको छ भने चर्चित गायिका मेलिना राईले सुमधुर स्वर दिनुभएको छ। गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गर्नुभएको हो। स्टुडियो किङमा रेकर्ड गरिएको गीतको रेकर्डिङ मनोज राईले गर्नुभएको छ।

त्यसैगरी, भिडियो निर्देशन खमेस श्रेष्ठले गर्नुभएको छ भने छायाङ्कनको जिम्मेवारी रामकृष्ण कँडेलले सम्हाल्नुभएको छ। भिडियोमा मोडल मिना पाख्रीन र अर्जुन तामाङको मुख्य भूमिका रहेको छ। साथै स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति समेटिएको छ।

अभियानको मुख्य उद्देश्य मौलिक गीत–सङ्गीतको खोजी, संरक्षण तथा प्रकाशन गर्दै लोप हुँदै गएका कला, संस्कृति र परम्परालाई नयाँ पुस्तामाझ परिचित गराउनुका साथै नेपाली लोकसङ्गीतको जगेर्ना गर्नु रहेको कलाकार ङावा फिन्जु पाख्रीनले बताउनुभयो ।

स्थानीय कला, संस्कृति र मौलिक पहिचानलाई गीत–सङ्गीतमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने अभियानले ओख्रेनी च्यास्कुको सांस्कृतिक पहिचानलाई समेत उजागर गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार