गत फागुनमा रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरको देवीस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत १३ वर्षीया एक बालिकाले घरभित्र पसेर दही चोरेर खाएको निहुँमा २१ घण्टासम्म बाँधेर यातना दिइएको थियो । सो मुद्दामा जिल्ला न्यायधीश इन्दिरा शर्माको एकल इजलासले शुक्रबार शरीर बन्धकतर्फ प्रतिवादी शेरबहादुर नगरकोटीलाई ३ वर्ष ६ महिना कैद र ३५ हजार जरिवाना तोकेको हो । त्यस्तै पीडित राहत कोषमा १४ सय जम्मा गर्न आदेश दिएको छ ।
त्यस्तै, जातीय छुवाछुत मुद्दामा तीन जना प्रतिवादीमध्ये शेरबहादुरलाई नै थप १ वर्ष कैदसँगै ७५ हजार जरिवाना गराउने फैसला गरेको छ भने नगरकोटीकी श्रीमती बालकुमारी नगरकोटीलाई ३ महिना कैद र ५० हजार जरिवाना तोकेको छ । छोरा रोशन नगरकोटीलाई भने अदालतले सफाइ दिएको छ । अदालतले पीडित बालिकालाई क्षतिपूर्ति ७० हजार रुपैयाँ उपलब्ध गराउन आदेश दिएको छ । शरीर बन्धकसहित जातीय छुवाछुत भएको भन्दै ७ महिना अघि २०७८ चैत २२ गते जिल्ला अदालतमा मुद्दा परेको थियो ।
जातीय भेदभाव मुद्दामा यसरी एक वर्षसम्म कैद सजाय भएको यो नै पहिलो फैसला हो । जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ मा टेकेर १ वर्ष कैद सजाय तोकेको यो पहिलो मुद्दा भएको अधिवक्ता यामकुमारी ददेलले जानकारी दिइन् । नगरकोटी परिवारले पीडित बालिकालाई फागुन ३१ गते सोमबार अपराह्न चार बजेदेखि चैत १ गते मंगलबारसम्म बाँधेर राखिएको थियो ।
नगरकोटीले दलित भएर घरभित्र छिरेको भन्दै बालिकालाई हात र कम्मरमा डोरीले बाँधेर कुटपिट गरेका थिए । बालिकालाई बाँधेर राखेको थाहा पाएपछि तत्काल मुक्त गर्न आग्रह गर्दा नमानेकाले स्थानीय जनप्रनिधिले प्रहरीलाई उक्त घटनाबारे जानकारी गराएका थिए । चैत १ गते मंगलबार मध्याह्न १२ बजे प्रहरी पुगेर पीडित बालिकाको उद्धार गरेको थियो । प्रहरीका अनुसार नगरकोटीले बालिकालाई जातकै कारण कुटपिट गरेको स्विकार्दै पीडित बालिकाको परिवारले आफ्नो घरमा चोखोनितोका लागि रुद्री लगाउने खर्च बेहोर्नुपर्नेसमेत माग गरेका थिए ।