रामेछापमा जातीय भेदभाव र शरीर बन्धक मुद्दामा साढे चार वर्ष कैद र १ लाख १० हजार रुपैयाँ जरिवाना

रामेछापमा जातीय भेदभाव र शरीर बन्धक मुद्दामा साढे चार वर्ष कैद र १ लाख १० हजार रुपैयाँ जरिवाना

रामेछापमा दही चोरेको निहुँमा १२ वर्षीय बालिकालाई २१ घन्टासम्म शरीर बन्धक गरेको मुद्दामा साढे चार वर्ष कैद र १ लाख १० हजार रुपैयाँ जरिवाना भएको छ । जिल्ला अदालत रामेछापले घरभित्र पसेर दुई डाडू दही चोरेर खाएको निहुँमा १२ वर्षीया बालिकालाई जातीय विभेद गरी २१ घण्टासम्म शरीर बन्धक गरेको मुद्दामा जातीय भेदभाव र शरीर बन्धकतर्फ समेत गरी ४ वर्ष कैद र जरिवाना तोकेको हो ।

गत फागुनमा रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरको देवीस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत १३ वर्षीया एक बालिकाले घरभित्र पसेर दही चोरेर खाएको निहुँमा २१ घण्टासम्म बाँधेर यातना दिइएको थियो । सो मुद्दामा जिल्ला न्यायधीश इन्दिरा शर्माको एकल इजलासले शुक्रबार शरीर बन्धकतर्फ प्रतिवादी शेरबहादुर नगरकोटीलाई ३ वर्ष ६ महिना कैद र ३५ हजार जरिवाना तोकेको हो । त्यस्तै पीडित राहत कोषमा १४ सय जम्मा गर्न आदेश दिएको छ ।

त्यस्तै, जातीय छुवाछुत मुद्दामा तीन जना प्रतिवादीमध्ये शेरबहादुरलाई नै थप १ वर्ष कैदसँगै ७५ हजार जरिवाना गराउने फैसला गरेको छ भने नगरकोटीकी श्रीमती बालकुमारी नगरकोटीलाई ३ महिना कैद र ५० हजार जरिवाना तोकेको छ । छोरा रोशन नगरकोटीलाई भने अदालतले सफाइ दिएको छ । अदालतले पीडित बालिकालाई क्षतिपूर्ति ७० हजार रुपैयाँ उपलब्ध गराउन आदेश दिएको छ । शरीर बन्धकसहित जातीय छुवाछुत भएको भन्दै ७ महिना अघि २०७८ चैत २२ गते जिल्ला अदालतमा मुद्दा परेको थियो ।

जातीय भेदभाव मुद्दामा यसरी एक वर्षसम्म कैद सजाय भएको यो नै पहिलो फैसला हो । जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ मा टेकेर १ वर्ष कैद सजाय तोकेको यो पहिलो मुद्दा भएको अधिवक्ता यामकुमारी ददेलले जानकारी दिइन् । नगरकोटी परिवारले पीडित बालिकालाई फागुन ३१ गते सोमबार अपराह्न चार बजेदेखि चैत १ गते मंगलबारसम्म बाँधेर राखिएको थियो ।

नगरकोटीले दलित भएर घरभित्र छिरेको भन्दै बालिकालाई हात र कम्मरमा डोरीले बाँधेर कुटपिट गरेका थिए । बालिकालाई बाँधेर राखेको थाहा पाएपछि तत्काल मुक्त गर्न आग्रह गर्दा नमानेकाले स्थानीय जनप्रनिधिले प्रहरीलाई उक्त घटनाबारे जानकारी गराएका थिए । चैत १ गते मंगलबार मध्याह्न १२ बजे प्रहरी पुगेर पीडित बालिकाको उद्धार गरेको थियो । प्रहरीका अनुसार नगरकोटीले बालिकालाई जातकै कारण कुटपिट गरेको स्विकार्दै पीडित बालिकाको परिवारले आफ्नो घरमा चोखोनितोका लागि रुद्री लगाउने खर्च बेहोर्नुपर्नेसमेत माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार