आजदेखि सातौँ कृषि गणना कार्य सुरु हुँदैछ ।यही वैशाख १९ गतेसम्म सञ्चालन हुने कृषि गणनामा स्थानीय तहमा वैज्ञानिक विधिले छनोट गरिएका कूल ३ लाख ५० हजार कृषक परिवारसँग घरघरमा गएर गणकहरूले कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण सङ्कलन गर्ने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
गणकले सङ्कटमा रैथाने पशुपक्षीको तथ्याङ्क, सम्पूर्ण बाली, माछा, पशुपन्क्षीपालन, खेतीयोग्य जमिनको अवस्थाका बारेमा तथ्याङ्क सङ्कलन गर्नेछन् । कृषि गणनाका लागि ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरीवेक्षक कार्यस्थलमा खटाइएको विभागका कृषि गणना शाखाका प्रमुख डाक्टर महेश सुवेदीले बताउनुभयो ।
तथ्याङ्क सङ्कलनका लागि गणक र सुपरीवेक्षकका लागि ४५ दिनको समय तोकिएको छ । नेपालमा २०१८ सालदेखि कृषि गणना कार्यको सुरुवात भएको हो । प्रत्येक १० वर्षमा एक पटक सञ्चालन गरिने कृषि गणनाको यो सातौँ कृषि गणना हो । यस अघि २०६८ सालमा कृषि गणना गरिएको थियो ।