स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह 

स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह 

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति छिटो तोक्न सरकारलाई आग्रह गरेको छ । आज पे्रस विज्ञप्ति निकालेर आयोगले यस्तो आग्रह गरेको हो । २०७४ वैशाख ३१ गतेलाई आधार मानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीहरुको कार्यकाल आगामी २०७९ जेठ ५ मा समाप्त हुने भएकोले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को व्यवस्था बमोजिम कार्यकाल समाप्त हुनु अगावै स्थानीय तहको निर्वाचन गर्न आयोगले आग्रह गरेको छ ।

आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न प्रस्ताव गरेको र एकै चरणमा निर्वाचन गर्न संभव नभएमा पहिलो चरणमा २०७९ वैशाख १४ गते र दोश्रो चरणमा वैशाख २२ गते निर्वाचन गर्न आग्रह गरेको आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानूनतः आयोगलाई १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने र निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन, मतदान स्थलहरुको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक अन्य पूर्व तयारीका कार्यहरु निरन्तर गरिरहेको पनि आयोगले जनाएको छ ।

आयोगले प्रस्ताव गरे अनुसार निर्वाचनको मिति तोकिएमा २०७९ वैशाख मसान्त भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको प िआयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति निकालेर निर्वाचनको मिति तोक्ने काम जति विलम्व हुँदै गयो, त्यति जटिलता हुने भएकाले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम आयोगको परामर्शमा निर्वाचनको मिति यथाशीघ्र तोक्न आग्रह गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार