रामेछाप सहित एमालेको ६१ जिल्लामा आज अधिवेशन हुँदै

रामेछाप सहित एमालेको ६१ जिल्लामा आज अधिवेशन हुँदै

नेकपा (एमाले) को ६१ जिल्लामा आज अधिवेशन हुँदैछ । केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी गरिएको एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार १६ जिल्लामा भने कतै मौसममा आएको खराबी त कतै तयारी नपुगेका कारण अधिवेशन केही दिन पर सारिएको छ । आज अधिवेशन नहुने जिल्लाको लागि अर्को मिति तोकिनेछ ।

जिल्ला अधिवेशन सकिए लगत्तै प्रदेश सम्पर्क कमिटी र प्रदेश सङ्गठन कमिटीको अधिवेशनको तयारी थाल्ने उहाँको भनाइ छ । प्रदेश अधिवेशन माघ ८ गतेका लागि निर्धारण गरिएको छ ।

गत मङ्सिरमा दसौँ महाधिवेशन गरेको एमालेले जिल्ला र प्रदेश अधिवेशन गर्न लागेको हो । एमालेले जिल्ला तथा प्रदेश अधिवेशनका लागि दसौँ राष्ट्रिय महाधिवेशनका लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउनेछ ।

यता नेकपा एमाले रामेछापको लागि चार जनाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एमाले रामेछापका उपाध्यक्ष प्रेम बहादुर तामाङ, सचिव आनन्न श्रेष्ठ, उपसचिव झम्क कँडेल र लव श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार