ओमिक्रोन पुष्टि भएका देशबाट आउने यात्रुलाई आज रातिदेखि नेपाल प्रवेशमा रोक

ओमिक्रोन पुष्टि भएका देशबाट आउने यात्रुलाई आज रातिदेखि नेपाल प्रवेशमा रोक

सरकारले कोरोना भाइरसको नयाँ स्वरुप ‘ओमिक्रोन’ पुष्टि भएका देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाबे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

ती देशलाई ट्रान्जिट बनाएर आउने यात्रु र तीन हप्ताभित्र ती देशको भ्रमण गरेका यात्रुलाई पनि आज राति १२ बजेदेखि नेपाल प्रवेशमा रोक लगाउने निर्णय भएको छ । अफ्रिकामा भेटिएको कोरोनाको नयाँ स्वरुप ‘ओमिक्रोन’विश्वका विभिन्न देशमा फैलिदै गएकाले सरकारले यात्रा प्रतिबन्धको निर्णय गरेको हो ।

कोरोनाको नयाँ स्वरुप ओमिक्रोन भित्रिन नदिन सरकारले विदेशबाट आउने नेपाली र नेपाल आउने विदेशी नागरिकमाथि निगरानी बढाएको छ । पछिल्लो एक सातादेखि बाहिरबाट आएका व्यक्तिहरूमा कोरोना सङ्क्रमण देखिएपछि उनीहरूमा कोरोनाको ओमिक्रोन हो वा होइन भनेर जाँचमा विशेष ध्यान दिइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

विदेशबाट आएका नागरिकलाई ओमिक्रोनको सङ्क्रमण हुन सक्ने भएकाले उनीहरूलाई छुट्टै अर्थात आइसोलेसनमा राखेर अध्ययन गर्न थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले बताउनुभयो । उहाँले केही विदेशी नागरिकको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइसकिएको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार