एमाले महाधिवेशन प्रतिनिधि चयनका लागी रामेछापमा १२ पदमा ६४ को उम्मेदवारी

एमाले महाधिवेशन प्रतिनिधि चयनका लागी रामेछापमा १२ पदमा ६४ को उम्मेदवारी

नेकपा एमालेको महाधिवेशनका लागि रामेछापबाट प्रतिनिधि बन्न खुलातर्फ आवश्यकभन्दा ५ गुणा धेरै उम्मेदवारी परेको छ ।

रामेछापमा खुलातर्फबाट १२ जना महाधिवेशन प्रतिनिधि छनोट हुनेमा बिहीबार निर्वाचन समितिको कार्यक्रम बमोजिम उम्मेदवारी दिने समयसीमा भित्र उक्त संख्याका लागि ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै ५ जना महिला प्रतिनिधिको कोटामा १२ जनाको उम्मेदवारी परेको छ । जिल्ला सचिव आनन्द श्रेष्ठका अनुसार महाधिवेशन प्रतिनिधिका लागि आकांक्षी धेरै भएकाले सहमतिको प्रयास हुँदैछ ।

सहमतिका लागि जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेलको संयोजकत्वमा ९ सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलले विभिन्न चरणमा उम्मेदवारहरूसँग वार्ता गरी सहमतिको प्रयास जारी राखेको जनाएको छ ।

कार्यक्रम अनुसार शनिबार अपरान्हसम्म प्रतिनिधि छनोट गरिसक्नुपर्नेछ । महाधिवेशनमा जाने आकांक्षीहरूमध्ये कार्यदलले सबै पालिकालाई समेटने गरी प्रतिनिधि बनाउने प्रयास जारी राखेको छ ।

खांडादेवी र मन्थली नगरपालिकामा भने संख्या थप्न माग भएको छ । यसैबीच उत्पिडित वर्गको तर्फबाट चयन हुने २ जना प्रतिनिधि भने निर्विरोध चयन भएका छन् ।

निर्विरोध हुनेमा गणेश बिक र मानबहादुर बिक रहेका छन् । एमालेले जिल्लाभरका करिब १२ हजार ५ सय सदस्यहरूबाट कुल १९ जना प्रतिनिधि महाधिवेशनका लागि चयन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार