आज सुनको भाउ तोलामा १५ सय रुपैयाँ बढ्यो

आज सुनको भाउ तोलामा १५ सय रुपैयाँ बढ्यो

आज सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको छ । लक्ष्मी पूजाको दिन तोलामा ९१ हजार रुपैयाँ रहेको सुनको भाउ आज एकै पटक तोलामा १५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ पुगेको छ । यस्तै, आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर तोलाको १२ सय ५० रुपैयाँमा पुगेको छ । सार्वजनिक बिदा सकिएलगत्तै आजदेखि सुन चाँदीको मूल्य तोक्न थालिएको हो ।

यो तिहारमा सुन चाँदीको कारोबार पुरानै लयमा फर्किएको छ । पोहोर कोरोनाको कारण सुन चाँदीको कारोबार ठप्प भएको थियो ।यसपालि कोरोना भाइरसको सङ्क्रमण केही कम भए पछि उल्लासका साथ दशैँ तिहार मनाइएकाले सुन चाँदीको कारोबार पनि बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यकाअनुसार तिहारको चार÷पाँच दिन अघिदेखि नै सुनको माग दैनिक ४० किलो थियो भने चाँदीको माग दैनिक दुई हजार किलो थियो ।तिहार सुरु भए पछि पनि कारोबार यही गतिमा भएको उहाँले बताउनुभयो ।

कोरोना भाइरसको सङ्क्रमण अघि सुन चाँदीको यस्तै कारोबार हुने गरेको थियो । तर कोरोना भाइरसको सङ्क्रमण फैलिन थाले पछि सुन चाँदीको कारोबार ठप्प भएको थियो ।ठप्प जस्तै भएको सुन चाँदीको कारोबार फेरि पुरानै अवस्थामा फर्किए पछि व्यवसायी उत्साहित भएका छन् ।

यसपालिको दशैँ र तिहारमा सुन पसलमा ग्राहकको भीड थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार