भोलिदेखि ठूलो पानी पर्न कम हुने मौसमविद्को भनाइ

भोलिदेखि ठूलो पानी पर्न कम हुने मौसमविद्को भनाइ

भोलिदेखि ठूलो पानी पर्ने क्रम कम हुँदै जाने मौसमविद्ले पूर्वानुमान गरेका छन् । गत आइतबारदेखि देशका विभिन्न ठाउँमा परेको झरीका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।

अहिले पनि देशका धेरै ठाउँमा पानी परिरहेको र यो क्रम आज बेलुकीसम्म नै रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँका अनुसार आज प्रदेश १ का थोरै तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यस्तै देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

अरु प्रदेशमा हल्कादेखि मध्यम वर्षा भने हुनेछ । यस्तै राति पनि प्रदेश १ को एक दुई स्थानहरूमा भारी वर्षा हुँदा अरु प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका हल्का हिमपातको समेत सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो ।

यसैबीच गत ४८ घण्टामा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै वर्षा भएको छ । डडेलधुराको साहुखर्क वर्षा मापन केन्द्रमा सबैभन्दा धेरै ५०२ दशमलव २ मिलिमिटर वर्षा मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैबीच आइतबारदेखि परेको अविरल वर्षाले विभिन्न ठाँउ डुबानमा परेका छन् भने धनजनको क्षती भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार