भोलिसम्म उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध

भोलिसम्म उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध

नदी तटीय क्षेत्रका बासिन्दालाई भोलि बेलुकीसम्म नै सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुुरोध गरेको छ । देशका विभिन्न ठाउँमा भोलिसम्म नै ठूलो पानी पर्ने भएकाले नदीहरूमा एक्कासी बाढी आउनसक्ने भन्दै महाशाखाले सावधानी अपनाउन अनुरोध गरेको हो ।

महाशाखाका अनुसार अहिले डोटीमा पश्चिम सेतीको गोपाघाट जलमापन केन्द्र र डडेलधुरामा महाकाली नदी पारीगाउँ जलमापन केन्द्रमा बाढीले खतराको तह पार गरेको छ । माथिल्लो भूभागमा लगातार वर्षा भइरहेकाले जलसतह थप बढ्नसक्ने भन्दै महाशाखाले तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहेका परिवारलाई भोलिसम्मै सुरक्षित स्थानमा बस्न सुझाव दिएको छ ।

बंगालको खाडीमा र मध्य भारतमा रहेका न्यून चापीय प्रणालीसँगै पश्चिमी वायुको संयुक्त प्रभावले आज देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र प्रदेश १ का केही ठाउँमा ठूलो पानी पर्दा प्रदेश २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बागमती प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा भइ उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना पनि छ । राति पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

उच्च पहाडी तथा हिमाली भूभागहरूका थोरै स्थानहरुमा हिमपातको पनि सम्भावना छ । प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले पनि प्रदेश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी बर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार