आजबाट सोह्र श्राद्ध सुरु

आजबाट सोह्र श्राद्ध सुरु

आजबाट सोह्र श्राद्ध सुरु भएको छ । आश्विन कृष्ण पक्षको प्रतिपदा तिथिबाट सुरु हुने सोह्र श्राद्धमा पितृको श्राद्ध र तर्पण गर्ने गरिन्छ ।आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा छ ।

चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने परम्परा छ । बडादसैँ र तिहारजस्ता चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनुका साथै पितृऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता रहिआएको छ ।सोह्रश्राद्ध सुरु भएसँगै पशुपति क्षेत्रमा पनि सर्वसाधारणदिवङ्गत पितृको सम्झनामा तर्पण तथा पिण्डदान गर्नका लागि पुग्ने गर्दछन् ।

बडादसैँको समीपमा पितृकार्य सम्पन्न गरेर दसैँ मनाउने सनातन परम्पराअनुसार त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थल र घरडेरामै पितृको श्राद्व तथा तर्पण गरिने यो पितृकार्य पवित्र मानिन्छ ।पशुपति क्षेत्र विकास कोषका अनुसार घाटमा कोषअन्तर्गत कर्मकाण्डको प्रमाणपत्र प्राप्त ब्राह्मणलाई मात्र पितृकार्य गर्न अनुमति दिइएको र उनीहरूलाई कोरोना सङ्क्रमणबाट बचाउ हुने स्वास्थ्य मापदण्डको पूर्ण रूपमा परिपालन गर्न गराउन निर्देशन दिइएको छ । प्रत्येक औँसी पितृ पक्ष भए पनि यो असोजको सोह्रश्राद्ध महत्त्वपूर्ण मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार